Main

नेपालमा शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा बढेको संसदीय समितिको निष्कर्ष

४ मंसिर, काठमाडौं । संसदीय समितिले नेपालमा शक्ति राष्ट्रहरूकाको दृष्य–अदृष्य प्रतिस्पर्धा बढेको निष्कर्ष निकालेको छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन हालै प्रकाशित गरेको छ, जसमा नेपालको भू–राजनीतिक अवस्थितिका कारण शक्ति राष्ट्रहरूको प्रभाव बढेको उल्लेख छ ।

प्रतिवेदनको ‘परराष्ट्र एवं कूटनीतिक’ खण्डको ‘चुनौतीहरू’ अन्तर्गत लेखिएको छ, ‘बढ्दो भू–राजनीतिक जटिलता, नेपालको भू–राजनीतिक अवस्थितिका कारण शक्ति/महाशक्ति राष्ट्रहरूका दृष्य/अदृष्य प्रतिस्पर्धाकाबीच नेपालको कूटनीतिक सामर्थ्य अभिवृद्धि गर्नु …।’

संसदीय समितिले अन्तर्राष्ट्रिय एवं महाशक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण पहिचान गरेर नेपालले आवश्यक नीति अवलम्बन गर्नुपर्ने निचोड निकालेको छ । तर, शक्ति/महाशक्ति राष्ट्रहरूका दृष्य/अदृष्य प्रतिस्पर्धाका गतिविधि, प्रस्ताव, व्यवहार वा यस्तै प्रकृतिका कार्य के हुन् भन्ने विषयमा प्रतिवेदन मौन छ ।

समिति सभापति कमला पन्त नेपालको कूटनीतिक क्षमता बढाउनुपर्छ भन्ने महसुस भएको बताउँछिन् । ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बार्गेनिङ पावर यति पैसा सहयोग गरिदेऊ भन्नेमा सीमित हुन भएन । सहयोगको याचनाबाट माथि उठेर नेपालले आफ्नो समग्र हितको लागि कूटनीतिक पावर बढाउनुपर्छ’ पन्तले अनलाइनखबरसँग भनिन् ।

यही मनसायका साथ भू–राजनीतिक जटिलता समेतको विषय वार्षिक प्रतिवेदनमा समावेश गरिएको जानकारी दिइन् । प्रतिवेदनमा कुनै देशको नाम लेखिएको छैन । तर, छिमेकी चीन र भारतका साथै अनि अमेरिका र युरोपको स्वार्थको टकराव नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा बढेको निष्कर्षमा आफूहरू रहेको समिति सदस्यहरू बताउँछन् ।

यस्तोमा नेपालको कूटनीतिक क्षमता बलियो हुन आवश्यक रहेको समिति सदस्यहरूको सुझाव छ ।

‘संयुक्त राष्ट्रसंघले चासो दिने गरेको छ । युरोपियन देशका औद्योगिक क्षेत्रबाट जलवायु परिवर्तन हुने ग्यास उत्पादन भइराखेका छन् । नेपालको सन्दर्भमा भारत र चीनकै उद्योगका कारणले नेपालमा क्षति भएको हो,’ एक सदस्य भन्छन्, ‘हामीलाई स्वतः सहयोग गर्नुपर्ने हो, तर उनीहरू दयाले सहयोग गरे जस्तो सहयोग गरिराखेका छन् ।’

संसदीय समितिका अनुसार दिगो विकासका कतिपय लक्ष्यहरूसँग नेपालको परराष्ट्र नीति लगायतका चालु क्षेत्रगत नीति तथा रणनीतिहरू अन्तर सम्बन्धित छन् । नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिको सुझबुझपूर्ण अवलम्बन एवं राष्ट्रिय सामर्थ्यको एकीकृत रूपमा कार्यान्वयन गर्दै आएको छ ।

राष्ट्रिय हितको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्नु नेपालको परराष्ट्र नीतिको सार हो । कूटनीतिक सम्बन्धको विस्तार, संयुक्त राष्ट्रसंघ लगायत असंलग्न आन्दोलन जस्ता बहुपक्षीय मञ्चमा सक्रिय उपस्थिति, साझा हितका विषयमा विकासोन्मुख, अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकहरूसँग सहकार्य एवं क्षेत्रीय सहयोगको प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा नेपालको परराष्ट्र नीति परिलक्षित छ ।

संसदीय समितिको प्रतिवेदनमा लेखिएको छ, ‘छिमेकी मित्रराष्ट्र, प्रमुख शक्ति राष्ट्र, विकास साझेदार लगायत सबै राष्ट्रहरूसँग नेपालको सम्बन्ध मैत्रीपूर्ण एवं सहयोगात्मक रही आएको छ । यसमा दिगो विकास लक्ष्य नं. १०, १६ र १७ समेटिएका छन् ।’

यसअनुसार अन्तर्राष्ट्रिय संघ/संस्थाहरूबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न परराष्ट्र मन्त्रालय प्रयत्नशील रहेको उल्लेख गर्दै प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘तथापि समकालीन अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा भइरहेको तीव्र परिवर्तन एवं विश्व शक्ति सन्तुलनमा देखा परेको बदलाव अनुसारका चुनौती सामना गर्न सक्षम र व्यावसायिक जनशक्तिको व्यवस्थापन र कूटनीतिक संयन्त्रको समग्र क्षमता अभिवृद्धि आशातित हुन सकिरहेको छैन ।’

संसदीय समितिका अनुसार विज्ञता, अनुभव र कार्यक्षमताका आधारमा कूटनीतिक नियोगको नेतृत्व चयन गर्ने र कूटनीतिक नियोगको नेतृत्वले हासिल गरेका उपलब्धिलाई कार्यसम्पादन मूल्यांकनसँग आबद्धता गर्ने कार्यमा समेत नेपालको कमजोरी रहेका छन् ।

परराष्ट्र र कुटनीति अन्तर्गत गर्नुपर्ने ७ बुँदे सुझाव सरकारलाई दिइएको छ ।

१. स्रोत (वैदेशिक तथा आन्तरिक) साधनको प्रभावकारी विनियोजन र परिचालन गर्नुपर्ने,

२. थप विकास सहायता प्राप्त गर्ने, र प्राथमिकताका साथ लगानी गर्ने,

३. प्रभावकारी समन्वय गर्ने, नियमित अनुगमन र मुल्याङ्कन गर्ने,

४. संस्थागत क्षमता सुदृढीकरण गर्ने,

५. स्रोत परिचालनमा पारदर्शिता र स्वच्छता कायम गर्ने,

६. दिगो विकासको लक्ष्य प्राप्तिमा भएको प्रगतिलाई जिम्मेवार कर्मचारीरअधिकारीको वृत्ति विकाससँग आवद्ध गर्ने,

७. सुशासन प्रवर्द्धन गर्ने, र तथ्यांकको संकलन र प्रभावकारी उपयोग गर्ने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button