‘अगस्त्य’ हेर्दा महिला दर्शकले टिकटमा छूट पाउने

काठमाडौं । सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै छूटको व्यवस्था गरिएको जनाएका छन् ।
यो फिल्म पनि महिलाको कथाव्यथामा आधारित छ । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा फिल्म बनेको छ । निर्माताले पहिलो र दोस्रो सातामा सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको र तेस्रो सप्ताहन्तमा समेत राम्रो कमाइ गरेको जनाएका छन् ।
निर्देशक चौधरीले भने, ‘शक्तिशाली दृश्य भाषामार्फत हामीले मानव बेचबिखनलाई पेश गरेका छौं ।’ फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन र प्रमोद अग्रहरिको शीर्ष भूमिका छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता हुन् । फिल्मलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टले संयुक्तरुपमा निर्माण गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।