नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै

६ साउन, काठमाडौं – नेपालले श्रीलंकामा जारी एसीसी वुमन्स एसिया कप २०२४ मा पाकिस्तानसँग टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएकोछ । श्रीलंकाको डाम्बूलामा भएको टसमा पाकिस्तानकी कप्तान निदा डरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
नेपालले यूएईसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राईको स्थानमा ब्याटिङ मजबुत बनाउन रोमा थापालाई मौका दिएको छ । अनुभवी रोमा मध्यक्रकी ब्याटर हुन् ।
समूह ए को नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको हो । नेपाल सन् २०१६ को एसिया कपपछि पाकिस्तानसँग खेल्दैछ । उक्त खेलमा नेपाल ४७ रनमा अल आउट हुँदै ९ विकेटले पराजित भएको थियो ।
आजको खेलमा नेपाल विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने पक्का हुनेछ । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ :
इन्दु बर्मा (कप्तान), सीता रानामगर, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, कृतिका मरासिनी, पूजा महतो, विन्दु रावल, रोमा थापा, सम्झना खड्का र काजोल श्रेष्ठ
बेन्च – राजमति ऐरी, ममता चौधरी, डली भट्ट र सबनम राई
– यस समाचारको श्रोत : Online Khabar हो ।