नेपालविरुद्ध कप्तान ज्याक्सनको पनि अर्धशतक

७ माघ, काठमाडौं । न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले यू-१९ विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले तिलक भण्डारीलाई ३४ औं ओभरको अन्तिम बलमा छक्का हाँन्दै ७४ बलमा अर्धशतक पूरा गरे । ज्याक्सन ५७ बलमा १ चौका र ४ छक्कासहित ५० रनमा क्रिजमा छन् । उनलाई स्नेहित रेड्डीले ७५ बलमा ५ चौकासहित ५९ रनमा साथ दिएका छन् ।
एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि ज्याक्सन र रेड्डीले १ सय १ रनको शतकीय साझेदारी गरि सकेका छन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले ३४.१ ओभरमा ३ विकेट गुमाउँदै १६७ रन बनाई सकेको छ । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए ।
तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । १५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए । उनी विकेटकिपर उत्तमथापा मगरबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्किएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।