नेपाली किशोरीबारेको फिल्मको प्रिमियरमा ‘रुम टु रीड’ र वार्नर ब्रोजबीच सहकार्य

काठमाडौं । नेपाली किशोरीको कथा समेटिएको फिल्म ‘सी क्रिएट्स चेन्ज’को टेलिभिजन प्रिमियरमा हलिउड वितरण कम्पनी वार्नर ब्रोज र सामाजिक संस्था रुम टु रीडले सहकार्यको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेको यो फिल्म अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार डिस्कभरी च्यानलबाट प्रिमियर हुँदैछ । च्यानलका दर्शकले यो लाइभ एक्सन फिल्मलाई मार्च ८, १५ र २२ मा हेर्न सक्ने प्रेषित विवरणमा उल्लेख छ ।
गैरनाफामूलक संस्था रुम टु रीडले लामो समयदेखि शिक्षा र लैंगिक समानताको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । यो फिल्ममा नेपाल, बंगलादेश, भारत, श्रीलंका, तान्जानिया र भियतनामका ६ जना किशोरीको संघर्ष र जीवन परिवर्तनको कथा समेटिएको छ ।
६ वटा एनिमेटेड छोटा फिल्मसहितको यो लाइभ एक्सन मिनी डकुमेन्ट्री जनरामा बनेको हो । यो फिल्म यसअघि अमेरिकाको ट्राइबेका, बेलायतको म्यानचेस्टर एनिमेसन, लन्डन सर्ट फिल्म फेस्टिभल र ब्रिटिस एनिमेसन अवार्डमा छनोट र पुरस्कृत भइसकेको छ ।
महिला सशक्तीकरणका लागि संस्थाले अघि सारेको ‘यु क्रिएट चेन्ज’का लागि १० मिलियन डलरका लागि अर्थ संकलनका लागि यो फिल्म प्रिमियर गर्न लागिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गीता मुरलीले अनुसार रुम टु रिड र वार्नर ब्रोज, डिस्कभरीको सहकार्यले विश्वका ४३ करोड २० लाख किशोरीमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन् ।
‘किशोरीले आफूले भोगेको जस्तै कथा हेर्दा जीवनमा आइपर्ने कठिनाइको सामना गर्ने सीप र ज्ञान प्राप्त गरी आफ्नो शक्ति उपयोगको बाटो पहिल्याउनेछन्,’ मुरलीले विज्ञप्तिमा भनेकी छन् । यो फिल्म डिस्कभरको एसिया संस्करणमा शुक्रबार बेलुका सवा १५ बजेदेखि प्रसारण हुनेछ ।
कुल ६० मिनेटको यो फिल्मलाई अमेरिकी निर्देशक मार्था एडम्सले निर्देशन गरेकी हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।