बैंक व्यवसाय : निक्षेप २६ अर्ब बढ्दा कर्जा १५ अर्ब घट्यो

८ जेठ, काठमाडौं । गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ । सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडल नै घटेको छ ।
आव अन्तिममा निर्माणले गति लिएर सरकारको पूँजीगत खर्च बढेसँगै कर्जा पनि केही विस्तार हुने अपेक्षा भए पनि कर्जा भने घटेको तथ्यांकले देखाउँछ ।
चैत मसान्तमा ४५ खर्ब ३६ अर्ब ८४ करोड रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी वैशाखमा घटेर ४५ खर्ब २१ अर्ब ६४ करोडमा झरेको छ ।
निक्षेप भने चैत मसान्तमा ५४ खर्ब ४१ अर्ब ९१ करोड रहेकोमा वैशाख मसान्तमा ५४ खर्ब ६८ अर्ब ११ करोड पुगेको छ ।
चालु आव लागेपछि वाणिज्य बैंकहरूको कुल निक्षेप ३ खर्ब ८२ अर्ब १६ करोडले वृद्धि हुँदा कर्जा भने २ खर्ब ३ अर्ब ६९ करोड मात्रै बढेको छ ।
असार मसान्त २०८० मा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८५ अर्ब ९५ करोड र कुल कर्जा लगानी ४३ खर्ब १७ अर्ब ९५ करोड थियो ।
कर्जा विस्तारमा नबिल र प्राइम आक्रामक
चालु आव कर्जा विस्तारमा नबिल बैंक र प्राइम कमर्सियल बैंक आक्रामक देखिँदा लक्ष्मी सनराइज, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने घटेको छ । चालु आव १० महिनामा नबिल बैंकको कुल कर्जा ४२ अर्ब २६ करोडले बढेर ३ खर्ब ८३ अर्ब ६९ करोड पुगेको छ ।
त्यस्तै प्राइम कमर्सियल बैंकको कुल कर्जा २७ अर्ब ५० करोडले बढेर १ खर्ब ९० अर्ब ६१ करोड पुगेको छ । त्यस्तै कृषि विकास बैंकको कर्जा १६ अर्ब ७३ करोडले बढेर १ खर्ब ९९ अर्ब ९२ करोड, एनआईसी एसिया १६ अर्ब ६० करोडले बढेर २ खर्ब ८८ अर्ब १९ करोड र एभरेस्ट बैंकको १६ अर्ब ४१ करोडले बढेर १ खर्ब ८४ अर्ब ५३ करोड पुगेको छ ।
त्यस्तै स्ट्यान्डर्ड चार्टर्डको कर्जा भने गत वर्ष असारको तुलनामा वैशाखमा ८ अर्ब ५२ करोडले घटेर ८६ अर्ब ८९ करोडमा झरेको छ ।
प्रभुको कर्जा ४ अर्ब ९ करोडले घटेर २ खर्ब ३८ अर्ब १ करोड र लक्ष्मी सनराइज बैंकको कर्जा १ अर्ब २९ करोडले घटेर २ खर्ब ५७ अर्ब ७६ करोडमा झरेको छ ।
निक्षेप बढाउनेमा राष्ट्रिय वाणिज्य र नबिल अगाडि
चालु आव १० महिनामा ३ खर्ब ८२ अर्बले निक्षेप बढ्दा राष्ट्रिय वाणिज्य बैंकको मात्रै ६५ अर्ब ९ करोडले बढेको छ । त्यस्तै नबिलको निक्षेप ५१ अर्ब ७१ करोडले वृद्धि भएर ४ खर्ब ५४ अर्ब ५५ करोड पुगेको छ ।
ग्लोबल आईएमईको निक्षेप ३८ अर्ब ४९ करोडले बढेर ४ खर्ब ७७ अर्ब ४४ करोड र नेपाल इन्भेस्टमेन्ट मेगाको निक्षेप ३६ अर्ब ७५ करोडले बढेर ३ खर्ब ९५ अर्ब ५५ करोड पुगेको हो ।
कर्जा घटाएको स्ट्यान्डर्ड चार्टर्डको निक्षेप पनि ८ अर्ब २५ करोडले घटेर १ खर्ब १४ अर्ब २४ करोडमा झरेको छ । त्यस्तै प्रभु बैंकको निक्षेप १६ अर्ब ९ करोडले घटेर २ खर्ब ७९ अर्ब ८५ करोड र माछापुच्छ«ेको निक्षेप ६ अर्ब ९ करोडले घटेर १ खर्ब ५२ अर्ब १९ करोडमा झरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।