नेपाल चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।
नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन र भरतपुर महानगरपालिकाको सह-आयोजनामा चितवनको नारायणी नदीको किनारमा २६-२७ माघमा सञ्चालित ‘बृहत चिया प्रदर्शनी तथा टी टेस्टिङ’ कार्यक्रममा निगमले सम्मान पाएको हो ।
कार्यक्रममा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । जहाँ विभिन्न चिया उत्पादक कम्पनीहरुले आ-आफ्नो उत्पादनका प्रदर्शनी गरेका थिए ।
प्रदर्शनीमा ८औं एसिया टी कम्पिटिसन-२०२३ समेत आयोजना गरिएको थियो । सो कम्पिटिसनमा नेपाल चिया विकास निगमको कन्याम बगानको चियाले गोल्ड विजेता पाएको हो ।
गोल्ड विजेता निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघइलाई कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सम्मान गरेका थिए ।
प्रत्येक साल चीनमा विश्वभरिका १७ चिया उत्पादन गर्ने देशहरु बीच हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको थियो । निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो ।
कम्पनीको अनुसार यस पुरस्कारले नेपाली चियालाई अर्न्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।