Main

जाडोमा हिटरको प्रयोग गर्दा के-के कुरामा ध्यान दिने ?

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न हिटरको प्रयोग गरिन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् । त्यसैले हिटरको प्रयोग गर्नुअघि केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

यदि बन्द कोठामा लामो समय हिटर अन गरेर छोडियो भने हिटरबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ । कार्बन मोनोअक्साइडको अत्यधिक मात्रा भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुन थाल्छ र ज्यानै जान सक्छ । त्यसैले बन्द कोठामा लामो समय हिटर गरेर छोड्नु हुँदैन ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकाले श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई झनै गाह्रो हुन्छ । त्यसैले दम भएका व्यक्तिलाई हिटरले हानि पुर्‍याउन सक्छ ।

छालाको लागि पनि हिटर राम्रो मानिंदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुक्खा हुने, रातो दाग बस्ने, चिलाउने समस्या हुन्छ । धेरै समयसम्म हिटर ताप्ने गर्दा यसले हाम्रो शरीरमा गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ । यस्तै हिटरको हावाले छालाको गुणस्तरमा समेत असर गर्छ । यसले छाला फुट्ने, चाउरी पर्ने समस्या देखा पर्छ ।

हिटरले चिसोबाट बच्न सहयोग गर्छ तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकाशले आँखालाई असर पुर्‍याउँछ ।

हिटर ताप्दा ध्यान दिनुपर्ने कुरा

ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाङ्केट, कपडा, दाउरा लगायत सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ । ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोरदोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्‍याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।

समय-समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ । सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउनुपर्छ यस्तो गर्दा दुर्घटना हुने सम्भावना कम हुन्छ ।

कतिपयले भान्साकोठामा काम गर्दा पनि खुट्टा नजिकै हिटर राख्छन्, यसो गर्नु हुँदैन । पानी प्रयोग हुने ठाउँमा हिटर प्रयोग गर्नु हुँदैन हिटर विद्युतीय साधन भएकाले पानीको छिटा पर्नु खतरनाक हुन्छ । जहाँ पानीले स्पार्क निम्त्याउने यसमा आगो लाग्ने खतरा हुनुका साथै विद्युतीय झट्का पनि लाग्न सक्छ ।

हिटरलाई बच्चाको नजिक राख्नु हुँदैन । किनकि साना बच्चाहरू प्रायः खेल्दा त्यसको वरिपरि जान सक्छन् । हिटर चलाउँदा वरिपरि पानीले भरिएको भाँडो राख्नुपर्छ । यसले हावाको आर्द्रता कायम राख्छ र हावालाई सुक्खा हुनबाट रोक्छ । हिटर ताप्नुअघि आफ्नो छालालाई राम्ररी मोइस्चराइज गर्नुपर्छ, जसले गर्दा छाला सुक्खा हुनबाट बच्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button