नेपाल पुनर्बीमा कम्पनी नोक्सानीमा

जेठ ९, काठमाडौं । सरकारी बहु स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी नोक्सानीमा पुगेको छ । कम्पनीले बल्ल चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आवको साउनदेखि असोज मसान्तसम्म कम्पनी ४७ करोड ५६ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । जबकि गत आवको यसै अवधिमा कम्पनीले २६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको प्रिमियम आम्दानी घट्नु, दावी भुक्तानी, कमिसनसहितका खर्च बढ्दा नोक्सानी देखिएको हो । प्रिमियम आम्दानी पहिले २ अर्ब १९ करोड रहेकोमा अहिले १ अर्ब ४३ करोडमा झरेको छ । दावी भुक्तानीसहितको कुल खर्च पहिले १ अर्ब ७९ करोड रहेकोमा अहिले २ अर्ब २१ करोड पुग्यो ।
कम्पनी नोक्सानीमा रहेपछि प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ७१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ १४ पैसा छ । उस्तै प्रकृतिको हिमालयन रिइन्स्योरेन्सले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण नै निकालिसकेको छ । सो कम्पनीले समीक्षा अवधिमा शत प्रतिशत नाफा बढाएको छ । हिमालयनले तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।