Main

नेपाल फाइनान्स : सेयर मूल्य करिब २ हजार, ईपीएस १ रुपैयाँभन्दा कम

१७ साउन, काठमाडौं । सेयर बजारले बढ्दो लय समातेका बेला केही कम्पनीको मूल्य अस्वभाविक बढेको छ । मूल्य उच्च दरमा बढेका तर वित्तीय स्थिति कमजोर रहेका कम्पनीमा लगानीकर्ता सचेत हुनुपर्ने बेला आइसकेको छ । तीमध्येकै एउटा कम्पनी हो– नेपाल फाइनान्स

जसको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ पनि छैन, सो कम्पनीको मूल्य अहिले बजारमा २ हजार नजिक पुगेको छ । विगत एक साता वा एक महिनामा सबैभन्दा उच्च दरमा मूल्य बढेको कम्पनी यहीं हो ।

विगत एक सातामा ५४.२४ प्रतिशत, एक महिनामा १०१.९५ प्रतिशत तथा एक वर्षमा ४८६.५० प्रतिशतले मूल्य बढेको नेपाल फाइनान्सको वित्तीय स्थिति फरक छ । अर्थात् वित्तीय स्थितिसँग कम्पनीको मूल्य सुहाउँदो देखिँदैन ।

कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन । तर यसअघि सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी जम्मा ०.२४ रुपैयाँ छ । तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १३ लाख १८ हजार खुद नाफा कमाएको छ ।

प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको सेयर मूल्य भने अहिले १९५८ रुपैयाँ पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा ९.२४ प्रतिशत छ ।

छोटो अवधिमा सबैभन्दा द्रुत गतिमा मूल्य उचालिनुमा यसको न्युन पूँजी हो । अर्थात बजारमा सूचीकृत सेयर संख्या न्यून भएकाले सीमित व्यक्ति/समूहले यस कम्पनीको मूल्यलाई सजिलै नियन्त्रण गर्न सक्छ ।

यस कम्पनीको बजारमा कारोबार हुने सेयर संख्या जम्मा ३३ लाख ५५ हजार ७७५ कित्ता मात्रै हो । बजारमा जम्मा ८३ लाख ८९ हजार कित्ता सेयर सूचीकृत भएकोमा ४० प्रतिशत अर्थात् ३३ लाख ५५ हजार ७७५ कित्ता सेयर मात्रै सर्वसाधारण समूहको हो । जसले गर्दा कम्पनीको मूल्य अस्वभाविक रुपमा मूल्य उचालिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button