हेटौंडा प्रकाश स्मृति भलिबलको फाइनलमा, एउटा खेल वर्षाले रोकियो

काठमाडौं । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिता अन्तर्गतको महांकाल गाँउपालिका र थाहा नगरपालिका बीचको सेमिफाइनल खेल वर्षाको कारण एक दिन पछि सरेको छ ।
मंगलबार निर्धारित दोस्रो सेमिपाइनल खेलमा महांकालले पहिलो दुई सेटमा जित हात पारे पछि खेल वर्षाले अवरुद्ध भएको हो ।
विजेताले फाइनलमा हेटौंडा नगरपालिकासँग खेल्ने छ । हेटौंडाले घ्यामलेक गाउँपालिकालाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ ।
यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समिति सह-आयोजक रहेको छ ।
प्रतियोगिताको सुरुआतदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौंडा र थाहा अपराजित टोली हुन् ।
घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौंडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।