भारतले दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

२ वैशाख, काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार दिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरेका हुन् ।
कुल १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर हस्तान्तरण गरेका छन् ।
भारत सरकारले तीन दशकदेखि आफ्नो स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले यो सहयोग नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिंदै आएको पहलमध्येको एक रहेको बताए । यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मद्दत गरेको पनि उनले बताए ।
सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको प्रशंसा गरे । यसले दुई देशबीचको सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने पुनले बताए ।
भारत सरकारले सन् १९९४ देखि हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार दिएको दूतावासले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।