Main

शिकागोका तीन अलग-अलग स्थानमा ८ जनाको हत्या

९ माघ, काठमाडौं । अमेरिकाको शिकागो शहरमा एक व्यक्तिले तीन अलग-अलग स्थानमा गोली हानेर आठ जनाको हत्या गरेका छन् । हत्याको कारण खुलेको छैन । प्रहरीले हत्यामा संलग्न व्यक्ति खोजिरहेको र हत्याको कारण नखुलेको जनाएको छ ।

प्रहरीका अनुसार मारिएकाहरुको शव आइतबार र सोमबार अलग-अलग स्थानमा फेला परेका थिए ।

जोलियट पुलिस प्रमुख विलियम अवान्सले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार एकजनाको शव आइतबार विल काउन्टीको एक घरमा फेला परेको थियो । सोमबार जोलिटका दुई घरमा सात जनाको शव भेटिएका थिए ।

पत्रकार सम्मेलनमा विलियम अवान्सले भने, ‘म २९ वर्षदेखि प्रहरी सेवामा छु । म अनुसन्धानमा संलग्न भएको यो सबैभन्दा खराब अपराधिक घटना हो ।’

उनले हत्यामा संलग्न व्यक्तिको खोजीमा स्थानीय प्रहरीले फेडलर व्यूरो अफ इन्भेस्टिगेसन -एफबीआई)को टास्क फोर्सलाई सघाइरहेको जानकारी दिए ।

प्रहरीले यो हत्यामा एकजना मात्र व्यक्ति संलग्न भएको र ऊ निकै खतरानाक भएको जनाएको छ । ती व्यक्ति हतियार लिएर घुमिरहेको भन्दै सतर्क रहन पनि प्रहरीले स्थानीयलाई भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button