न्युजिल्यान्डविरुद्ध चलेन गुल्शनको ब्याटिङ, समस्यामा नेपाल

७ माघ, काठमाडौं । नेपालको सिनियर टोलीका प्रमुख सस्दय समेत रहेका गुल्शन झा आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध सस्तैमा आउट भएका छन् । गुल्शनसहित नेपालले पाँच ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।
गुल्शन स्पिनर ज्याक कमिङकोे २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा ल्यूक वाटसनबाट २ रनमा क्याच आउट भए ।
खराब सटका साथ गुल्शन आउट भएपछि नेपालको जितको सम्भावना पनि धेरै कठिन बनेको छ ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ ।
अर्जुन कुमाल ५८ बलमा ६ चौकासहित ४४ रनमा क्रिजमा छन् । उनलाई दीपक बोहराले ४ रनमा साथ दिएका छन् । नेपाललाई जितको लागि बाँकी २९ ओभरमा १९८ रन आवश्यक पर्दछ ।
नेपालको हातमा अब ५ विकेट मात्रै छ । नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।
तीव्र गतिका बलर म्याट रवेको छैटौं ओभरको चौथो बलमा आकाश त्रिपाठी ठूलो सट खेल्ने धुनमा लचलान स्कटपुलबाट उत्कृष्ट क्याच आउट भए ।
टप एज लागेर उनी थर्डम्यानमा २ रनमा क्याच आउट भएका थिए । न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भए ।
देवले ३४ बलमा ५ चौका र १ छक्का हाने । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा आउट हुन पुगे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।