कांग्रेसले भन्यो– सभामुखको तटस्थता देखिएन, सहकारीको मुद्दा छोड्दैनौं

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको आरोप लगाएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
विहीबारको संसद बैठकमा प्रतिपक्षी दलले विरोध जनाउँदा जनाउँदै सभामुखले बैठक सन्चालन गरेको र गृहमन्त्री रवि लामिछानेलाई बोल्नसमेत समय दिएको भन्दै कांग्रेसले यसप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासमा विपक्ष दल उभियो मात्रै भयो भने संसद अवरोध भएको मानिन्छ । तर सिंगो प्रतिपक्ष वेलमा आएर नारा लगाउँदै गर्दा पनि संसद बैठक सञ्चालन गर्नु उचित हुँदैन भन्ने हामीले ठहर गरेका छौं ।’
प्रतिपक्षलाई संसदमा आफ्नो माग राखिराखेको बेला सभामुखले कार्यसूचीले पढ्दै जाने र सत्ता पक्षकै माननीय उभिरहनु शोभनीय नभएको उनले बताए । सभामुखले सदनभित्र सबै दलको सभामुख भएर काम गर्नपर्ने बताउँदै प्रमुख सचेतक लेखकले भने, ‘संसदीय अभ्यासमा सभामुखजी कुनै राजनीतिक दलबाट निर्वाचित भइसकेपछि उहाँले आफ्नो दलसँगको सबै सम्बन्ध र पदहरुलाई स्थगित गर्नुपर्छ । सम्माननीय सभामुख जी सदन भित्र सबै दलको भएर काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता भएको हुनाले तटस्थता र निष्पक्षतापूर्वक बैठक सञ्चालन गर्नका लागि आजको बैठकबाट आग्रह पनि गरेका छौं ।’
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको प्रयाप्त प्रमाण भएको भन्दै उनीमाथि संसदीय समितिमार्फत् छानबिन गर्न माग गर्दै आएको छ । विहीबारको बैठकमा पनि कांग्रेस सांसदहरुले यही माग राख्दै नाराबाजी गरेका थिए । त्यही क्रममा सत्ता पक्ष र प्रतिपक्ष सांसदहरुबीच धकेलाधकेल भएको थियो ।
आजको संसदीय दलको बैठकले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने माग नछोड्ने निर्णय समेत गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए । ‘सहकारीको रकम अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको पनि प्रयाप्त प्रमाण सार्वजनिक भइसकेका छन्,’ लेखकले भने, ‘त्यसैले पनि यी विषयमा छानबिन गर्नु अब अपरिहार्य भएको छ ।’
‘हामीले निरन्तर रुपमा संसदीय छानबिन समिति माग्दै आएका छौं । पुनः आज हामीले माग गरेका छौं । लाखौं नेपाली नागरिकका अरबौं रकम हिनामिना, दरुपयोग भएको छ । अपचलन भएको छ । बचतकर्ताको सुरक्षाको ग्यारेन्टी गर्ने, जसको रकम हिनामिना, दुरुपयोग, ठगी भयो, त्यस्ता रकम फिर्ता गर्ने व्यवस्था गर्ने र अपचलन गर्ने विषयलाई छानबिन गरेर यसमा संलग्न मानिसहरुलाई कारबाही गर्न पनि छानबिन समिति गठन गर्नुपर्ने अब थप पुष्टि हुँदै गएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।