‘जारी’लाई युट्युबमा करोड पटक हेरियो, बन्ला सिक्वेल ?
काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा १७ करोड रुपैयाँ भन्दा धेरै कमायो । कथ्य संरचना र शिल्पको निकै प्रशंसा भयो । बाँसुरी फिल्म्सका लागि ‘कबड्डी’ सिरिजपछि यो अर्को सुपरहिट फिल्म थियो ।
हल रिलिजको डेढ वर्षपछि दर्शकले यसलाई निःशुल्क युट्युबमा हेरिरहेका छन् । युट्युबमा समेत यसले लोभलाग्दो भ्युज पाइरहेको छ । दुई साताअघि स्ट्रिमिङ सुरु भएको फिल्मलाई युट्युबमा बुधबारसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ ।
पहिलो साता युट्युबको शीर्ष ट्रेन्डिङमा स्ट्रिमिङ भइरहेको फिल्म अहिले रियल टाइम खण्डतर्फ ट्रेन्डिङको दशौं स्थानमा छ । प्राप्त १२ हजारभन्दा बढी कमेन्ट पनि सकारात्मक छन् ।
‘हलमात्र होइन, युट्युबमा पनि प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई उत्साह दिएको छ’ निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने । यो फिल्मको दोस्रो श्रृंखला बनाउने भन्ने चर्चा चलिरहेपनि यसबारे निर्माता कम्पनीले आधिकारिकरुपमा केही बताएको छैन ।
पूर्वी नेपालको लिम्बू समुदायमा प्रचलित जारी प्रथालाई चित्रण गरिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतको अभिनय छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।