‘परालको आगो’माथि फिल्म बनाउन मञ्जुरी, दशैंमा प्रदर्शन घोषणा
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ ।
कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशिलकुमार पोखरेललाई कथाको मर्म नबिग्रने गरे निर्माणको मन्जुरी दिएका छन् । फिल्म निर्माणमा आफ्नो पूर्ण सहमति रहेको उनले उल्लेख गरेका छन् ।
यो फिल्मको प्रदर्शन २०८२ सालको दशैंमा हुने समेत पोखरेलले जनाएका छन् । मैनालीले लेखेको उक्त कथा ‘नासो’ कथा संग्रहमा संग्रहित छ ।
‘परालको आगो’ कथामाथि ४५ वर्षअघि पनि प्रताप सुब्बाले श्यामश्वेत फिल्म निर्माण गरेका थिए । यसपटक भने इभेन्ट, प्रस्तुतिकरण र पटकथालाई भिन्न तुल्याएर फिल्म बनाउन लागेको निर्माता पोखरेलले बताए ।
२५ वर्षअघिको नेपाली समाजको परिवेशमा बनाउने तयारी गरिएको यो फिल्मले कृतिको मर्मलाई कायम राख्ने पोखरेल बताउँछन् । ‘पैसा कमाउने भन्दा पनि यसको उद्देश्य अभिलेखीकरण गर्न मिल्ने ढंगले भोलिको पुस्तालाई यसबारे जानकारी दिने कुरा हो’ उनले भने, ‘प्रकाश सुब्बाहरुले पनि राम्रै मेकिङ गरेपनि हामीले रि-राइट गरेर सुन्दर फिल्म बनाउन थालेका हौं ।’
फागुनदेखि छायांकन हुने फिल्मलाई ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । कलाकार तय गर्न बाँकी छ ।
‘परालको आगो’ कथा दुई पात्र चामे र गौँथलीको झैँझगडा वरपर घुमेको छ । कथाकार मैनालीले यो झगडालाई परालको आगोको संज्ञा दिएका छन् । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ भन्ने सन्देश यसमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।