परिणाम दिनेगरी सहकारी समस्या समाधान गर्छौं : मन्त्री अधिकारी

३१ असार, काठमाडौं । नवनियुक्त भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले परिणाम दिनेगरी सहकारी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले सहकारी समस्या समाधानको थालनी भएको र त्यसमा परिणाम दिनेगरी काम गर्ने बताए ।
‘समस्याग्रस्त २१ वटा सहकारीलाई विभाजन गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मा दिई छिटो नतिजा खोज्नुपर्छ’ उनले भने ‘त्यसमा समितिका अध्यक्ष अगाडि बढ्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’
ऐन कानुनले काम गर्न दिँदैन भन्नुको साटो सुधार आवश्यक छ भनेर अघि बढ्नुपर्ने उनले बताए । सहकारी ऐन संशोधनमा स्थानीय तह र प्रदेशलाई अधिकार दिने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । नचलेका सहकारीलाई खारेज गर्न निर्देशन दिनुपर्नेमा उनले जोड दिए ।
भूमि समस्या समाधान गर्न १०० वर्ष अगाडिदेखि बसेका मान्छेले पनि अहिलेसम्म पुर्जा नपाएको विषयलाई आफूले काममा प्राथमिकता दिने उनले बताए ।
‘२०५२ देखिको गठन आदेश हेरर भूमिहीन सुकुम्बासी र दलितले जग्गा पाउने गरी गठन आदेशमार्फत आयोग बनाउन जरूरी छ’ उनले भने ‘बजेटमा ५ लाखलाई जग्गाधनी पूर्जा दिने भनेको छ, यसको काम तत्काल सुरू गर्नुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।