Main

बकैयाका वडाध्यक्ष दंगाल कागजात किर्ते आरोपमा थुना पठाइए

२१ कात्तिक, हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाललाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको छ ।

जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज बुधवार सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी अनुसन्धान अगाडि बढाउन आदेश गरेको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए। उनलाई गत असार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यस यता उनी फरार थिए ।

दंगाल चार महिनापछि आजै अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुरुङको २६ भदौ २०७४ मा निधन भएको थियो। उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।

प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव श्रेष्ठ, नक्कली छोरा बनेका ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।

बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button