Main

पर्यटनमन्त्री पाण्डे र कोरियाली पूर्व पर्यटनमन्त्री रोङबीच भेटवार्ता

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोङबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोङ सहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्री पाण्डेसँग भेटवार्ता गरेको हो ।

भेटमा मन्त्री पाण्डेले नेपाल-कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै नेपाल-कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुगेको बताए ।

मन्त्री पाण्डेले नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको प्रसंग निकाल्दै ध्यानाकर्षण समेत गराए ।

५० हजारभन्दा बढी नेपाली कोरियामा बस्ने गरेको भन्दै उनले हवाई भाडा महँगो भएको जनगुनासोबारे जानकारी गराएका हुन् ।

नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री युजिनले नेपाल-कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गरे ।

उनले हवाई भाडा घटाउन कोरिया सरकारसँग पहल गर्ने आश्वासन दिए । उनले मन्त्री पाण्डेलाई कोरिया भ्रमणको निम्तो समेत दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button