Main

पहिरोमा मृत्यु भएका ६ खेलाडीको परिवारलाई एन्फाले ८ लाख दिने

२० असोज, काठमाडौं । १२ असोजमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार ८ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई जनही ८ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने पनि एन्फाको निर्णय छ । एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले बालकहरुको मृत्युको घटना छानबिन गर्न एन्फाले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठन गरेको छ ।

समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन् । उनीहरुलाई सत्यतथ्य सहित प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button