धादिङ प्रशासन चुक्दा झ्याप्ले खोलामा ठूलो मानवीय क्षति

१६ असोज, काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाको सम्भावना रहेको भन्दै १० साउनमै ‘ट्राभल एड्भाइजरी’ जारी गरेर रात्रीकालीन गाडी चलाउन नदिन भन्यो ।
निर्देशन अनुसार, काठमाडौंमा प्रहरीले शुक्रबारबाटै राति गाडी चलाउन रोक लगायो । चितवनमा पनि प्रशासनले साँझ ७ बजेपछि गाडी चल्न दिएन ।
तर चितवनबाट ७ बजे अगाडि नै छुटेका गाडीहरु धादिङको सडकमा रोकिंदै रोकिएनन् । काठमाडौं पनि आइपुग्न सकेन ।
भारी वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरोले शुक्रबार मध्यरातबाटै राजमार्ग अवरुद्ध भइसकेको थियो । गाडीहरु राजमार्गमै रोकिए ।
झ्याप्ले खोलामा रोकिएको गाडीमाथि भने पहिरो नै खस्यो । शनिबार पानी केही भएपछि राजमार्गमा भएकाहरुले पहिरोमा पुरिएको एउटा माइक्रो बसको थोरै भाग देखियो ।
‘हाम्रो अनुमान अनुसार राति २ बजेतिरै झ्याप्ले खोलामा गाडीहरु पुरिएको हुनुपर्छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यति देखिसकेपछि पनि कति क्षति भयो होला भन्ने अनुमान लगाउन नसकिने स्थिति भयो ।’
सुरुमा त बाटो अवरुद्ध भएपछि रोकिएको खाली गाडी पहिरोमा परेको हुनसक्ने आशंका थियो । तर शनिबार दिउँसो पहिरो पन्छाउने क्रममा बस पनि पुरिएको भेटियो । माइक्रो बसबाट ५ जना र बसमा ९ जनाको शव भेटियो । आइतबार अर्को गाडी पनि भेटियो ।
प्रहरीका अनुसार सुरुमा भेटिएको लु १ ज ४५७८ नम्बरको माइक्रोबस बुटवलबाट काठमाडौं जाँदै गरेको थियो । त्यसमा सवारी १४ जनाको मृत्यु भएको छ । गोरखाबाट काठमाडौंका लागि छुटेको ना २ ख २२७० नम्बरको बसमा सवार ५ जना र चितवनबाट काठमाडौंका लागि हिँडेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसमा सवार १६ जनाको शव भेटिएको छ ।
हालसम्म झ्याप्ले खोलाबाट ३५ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन् । ‘जेसिबीको सहयोगले पहिरो पन्छाएर एकतर्फी सडक खोलिएको छ’, उनले भने, ‘तर पहिरो पन्छाउने क्रम जारी रहेकाले कति जना पुरिए भन्ने एकिनका साथ बताउन सकिन्न ।’
अधिकारीहरुका अनुसार, हिजोआज पृथ्वी राजमार्गमा गुड्ने गाडीको विवरण राख्ने गरिएको छैन । विवरण नराखिएकै कारण झ्याप्ले खोला पहिरोमा कति पुरिए भन्ने विवरण पनि गृह मन्त्रालयसँग छैन ।
‘कति गाडी कट्यो भन्ने विवरण पनि भएन, बिहान एउटा बसमा चाहिँ मान्छे नै नदेखिएपछि पार्क गरेको गाडी होला भन्ने सूचना आयो’, मन्त्रालय स्रोतले भन्यो, ‘पछि चालक वा सहचालक हुनुपर्नेमा उनीहरु पनि देखिएपछि बल्ल पुरिएको हुनसक्छ भन्ने भयो ।’
समयमा परिस्थितिबारे रिपोर्टिङ नहुँदा थप मद्दत टोली पनि पठाउन नसकिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘एउटा जिल्लामा ७/८ सय सेना, ४/५ सय प्रहरी, सशस्त्र प्रहरी पनि खटिएका हुन्छन्, आवश्यक पर्दा नजिकैको जिल्लाबाट पनि थप मद्दत मगाउन सकिन्छ’, मन्त्रालय स्रोत भन्छ, ‘तर, धादिङमा त्यो दुवै हुन सकेन, पूर्वसतर्कतामा जिल्ला प्रशासनको भूमिका शून्य जस्तै देखियो ।’
‘धादिङमा सीडीओ र एसपीको लापरबाही’
धादिङको झ्याप्ले खोलामा पहिरोमा परेर कम्तीमा ३५ जनाको मृत्यु हुनुमा प्रशासनका अधिकारीहरुको लापरबाही पनि एउटा कारक भएको गृह मन्त्रालयको निष्कर्ष छ ।
‘मन्त्रालयबाट एड्भाइजरीसँगै सबैतिर सूचना गइसकेपछि फेरि प्रमुख जिल्ला अधिकारी पिच्छेलाई भन्नुपर्ने होइन’, गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘विपद्को पूर्वजानकारी भएपछि धादिङमा प्रशासनबाट जे हुनुपर्ने थियो, त्यो हुन सकेन ।’
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख एसपी गौतम केसी ।
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार, धादिङ, सिन्धुपाल्चोक, काभ्रे जस्ता जिल्लाहरु सधैँ विपद्जन्य घटनाबाट जोखिममा हुने भएको सधैँ प्रमुख जिल्ला अधिकारीहरु ‘स्ट्याण्ड बाइ’ रहनुपर्छ । तर गृह सचिवलाई समेत सूचना पुग्दा समेत सीडीओलाई धेरै जानकारी नभएको अधिकारीहरु बताउँछन् ।
धादिङ, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको गृह जिल्ला पनि हो । ‘सचिवज्यूलाई आफ्नै संयन्त्रबाट पनि त्यसबारे सूचना पुगेको रहेछ, फेरि विपद्का बेला सीडीओ सा’बको फोन उठेन भन्ने गुनासो पनि स्थानीय स्तरबाट आएको थियो’, स्रोतले भन्यो ।
त्यहीकारण धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा मन्त्रालयले सहसचिव सुमन घिमिरेलाई पठाएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले धादिङका प्रहरी प्रमुख एसपी गौतम केसीलाई पनि जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा एसपी दीपेन्द्र शाहीलाई पठाइएको छ ।
गृहमन्त्री रमेश लेखकले आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत एड्भाइजरी जारी भएका बेला समेत राति गाडी कसरी झ्याप्ले खोला पुग्यो भन्ने विषयमा आन्तरिक छानबिन भइरहेको बताएका छन् ।
सांसदहरुले यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेपछि उनले भनेका थिए, ‘हामीले यो विषयमा इन्क्वायरी गरिरहेका छौं । साथै, आगमी दिनमा यस्ता सूचनालाई म्याडेटरी बनाउनुपर्छ भन्नेमा पनि छौं ।’
मन्त्रालय सूचना अधिकारी उपसचिव दिलकुमार तामाङका अनुसार, धादिङ घटनाबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि गम्भीर समीक्षा भएको छ ।
‘सुरक्षा समिति बैठकमा सबै सुरक्षा निकायका प्रमुखसहित रक्षा सचिव, गृहसचिव, गृहको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत सहभागी हुनहुन्थ्यो’, उनले अगाडि भने, ‘त्यहाँ सबै निकायबाट सूचना संकलन गर्ने भयो ।’
प्राप्त सूचनाका आधारमा थप समीक्षा गरेर त्रुटि देखिए अधिकारीहरुलाई जिम्मेवार बनाइने समेत उनले बताए । ‘आगामी दिनमा कसरी समन्वय र सहजिकरण गर्ने भन्नेमा पनि एउटा खाका तयार पार्छौं’, उनले अगाडि भने ।
सीडीओ र एसपीबीच थिएन सुमधुर सम्बन्ध
मन्त्रालय स्रोतका अनुसार, सीडीओ र एसपीको जिम्मेवारी खोसिनुमा अर्को एउटा कारण पनि छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी पाण्डे र प्रहरी प्रमुख एसपी केसीबीच राम्रो सम्बन्ध थिएन ।
‘प्रमुख जिल्ला अधिकारीले सबै सुरक्षा निकायलाई मिलाएर लैजानुपर्नेमा सीडीओ र एसपीबीच बोलचालै नहुने जस्तो स्थिति रहेछ’, मन्त्रालय र प्रहरी दुवै स्रोतले भन्यो, ‘त्यहीकारण पनि समन्वयमा समस्या भएको हुनसक्ने मूल्यांकन गरेका छौं ।’
बरण्डाका ८ सहसचिवलाई समन्वय गर्न खटाइयो
धादिङमा देखिएको कमजोरीपछि गृहसचिव दुवाडीले अहिले विपद्बाट संकटमा भएका जिल्लामा समन्वय गर्न भन्दै बुधबारबाट ८ जना सहसचिवलाई खटाएको छ ।
मन्त्रालयमा जिम्मेवारीविहीन रहेर बसिरहेका सहसचिवहरुलाई आठ जिल्लामा खटाइएको हो । गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार, काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।
कार्यदललाई अति भारी वर्षाका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्नुका साथै नागरिकहरुको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार, शुक्रबार र शनिबारको विपद्का कारण धादिङमा हालसम्म ३९ जनाको मृत्यु र ७ जना घाइते छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।