Main

‘पार्टी र घरपरिवारको सल्लाहम‍ा म अध्यक्ष भएको हुँ’

२८ पुस, धनगढी । २०७२ भदौमा टीकापुरमा थारु आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी(नाउपा) को पहिलो महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चुनिए ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका र राष्ट्रपतिबाट कैद मिनाहा पाएपछि रिहा भएका रेशम आफ्नै पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई विस्तापित गर्दै अध्यक्ष बनेका हुन् ।

कारागारबाट छुटेको ८ महिनापछि पार्टी नेतृत्व लिएका उनीमाथि फौजदारी अभियोग लागेकाले कतिपयले पार्टी अध्यक्ष बन्न नमिल्ने पनि बताइरहेका छन् । चौधरीले भने आफू निर्वाचन आयोग र कानुनका जानकारहरुको परामर्शमै पार्टी अध्यक्ष भएको दाबी गरेका छन् ।

प्रस्तुत छ, नाउपाका नवनिर्वाचित अध्यक्ष रेशम चौधरीसँग अनलाइनखबरका जनक विष्टले गरेको कुराकानीको सम्पादित अंश :

प्रथम महाधिवेशनबाट तपाईं अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो तर संस्थापक अध्यक्षलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गराउनुभयो नि ?

दुई महिनाअघि हाम्रो पार्टीको विधान सम्मेलन भएको थियो । विधान सम्मेलनले निर्णय गरेअनुसार नै हामीले यो महाधिवेशनबाट पदहरु राखेका छौं । कतिपय साथीहरुले सहअध्यक्षमा भाउजु (रञ्जिता श्रेष्ठ) बन्नुपर्छ भन्ने कुराहरु राख्नुभयो, कतिपयले उहाँ निवर्तमान अध्यक्ष हो, उहाँको आफ्नै स्थान हुन्छ नराखौं भन्ने सुझाव पनि दिनुभयो । तर पार्टीको पहिलो बैठकले सहअध्यक्ष बनाउने निर्णय गर्‍यो । अहिले म व्यस्त भएकाले यो सम्बन्धमा धेरै कुरा गर्न सक्ने अवस्था छैन ।

निर्वाचन आयोगले तपाईलाई अध्यक्ष पदमा निरन्तरता नदिने आशंकाका कारण भविष्यमा श्रीमतीलाई पार्टी नेतृत्व दिन सजिलो हुन्छ भनेर सहअध्यक्ष बनाउनुभयो भन्छन् नि ?

मान्छेहरु आफ्नो मनगढन्ते कुरालाई धेरै प्रकारले स्थापित गर्न खोज्छन् तर विधान, पद्धति, नियम, प्रक्रियालाई बुझ्नुपर्छ र हामीले इतिहासलाई पनि हेर्नुपर्छ । कतिपय भूमिगत पार्टीहरु दर्ता हुदैनन् तैपनि त्यसको अध्यक्ष, सहअध्यक्ष सबै हुन्छ । राजनीतिक दलसम्बन्धी ऐनमा कर्तव्य ज्यान र राजनीतिक मुद्दा सम्बन्धी खासै केही बोलेको मलाई लाग्दैन । टीकापुर घटना एउटा राजनीतिक घटना थियो भनेर धेरै मानिसहरुले भनेका छन् ।

म कसैमाथि प्रश्न उठाउँदिन, तर विभिन्न फौजदारी मुद्दा लागेका व्यक्तिहरु पनि पार्टी नेतृत्वमा छन् । विप्लवजीहरु महासचिव भइराख्नुभएकै छ अरु पनि छन् । निर्वाचन आयोगमा सोध्न जाँदा पनि उहाँहरुले तपाईमाथि कुनै बाधा अड्चन छैन भनेर प्रष्ट भन्नुभएको थियो ।

मैले सल्लाह गर्दा कानुन व्यवसायीहरुले पनि बाधा अड्चन छैन, यदि तपाईमाथि बाधा, अड्चन भयो भने माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली सबैमाथि यो धारा आकर्षित होला भन्ने खालको कुरा गर्नुभयो । किनभने सबैको राजनीतिक बाटो त्यही थियो नि ।

फेरि म अध्यक्ष हुन पाउने वा नपाउने विषय नागरिक उन्मुक्ति पार्टीभित्रको कुरा हो । एउटा पार्टीले आफ्नो नेतालाई जुनसुकै स्थान दिन सक्छ । मैले जेलबाट संघर्ष गरेर साथीहरुसँग मेहनत गरेर सबैको सुखदुःखले नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।

अध्यक्ष भइसकेको मान्छेलाई फेरि किन सहअध्यक्षमा मनोनित गर्नुभयो त ? 

रञ्जिताजी नागरिक उन्मुक्ति पार्टीको स्वतः सम्मानित व्यक्ति हो । यो पार्टीलाई स्थापित गर्न, यो पार्टीमा ९९ जना स्थानीय सरकारको प्रतिनिधि, १६ जना संघ र प्रदेशको प्रतिनिधि र चार वटा मन्त्रालय पाउने गरीको प्रतिनिधित्वको देन वास्तममै उहाँको हो ।

अहिले पनि उहाँले पार्टीप्रति गरेको योगदानका कारण उहाँले नेतृत्व सम्हाल्ने कुरामा कुनै शंका थिएन । म जेलबाट निस्किएपछि गाउँ/गाउँ बस्तीमा जादा वरियताअनुसार कुन किसिमले जाने, प्रस्तुत हुने भनेर सल्लाह पनि गरेका थियौँ ।

उहाँले मन्त्रालय चलाइराख्दा धेरै राजनीतिक वार्ता, बहस गर्नुपर्ने, व्यस्तताले धेरै ठाउँमा अध्यक्षका हिसाबले उपस्थित हुन नसक्ने, धेरै कार्यक्रममा समय दिन नसक्ने हुनाले पार्टी, हाम्रो घरपरिवार सबैको सरसल्लाह बमोजिम नै म अध्यक्षमा आएको हुँ ।

मलाई अध्यक्ष हुनैपर्छ, चाहिन्छ भन्ने त्यस्तो केही स्वार्थ छैन । धेरै साथीहरुले जुन मनसायले लेखिराख्नुभएको छ त्योभित्र संशय केही पनि छैन । त्यस्तो मनमुटावको कुनै प्रश्न नै छैन ।

तपाईंको पार्टीभित्र विधि, विधानअनुसार महाधिवेशन भएन, स्वयं तपाईंले आफ्नै वचन तोड्नुभयो भन्ने आवाज पनि सुनिएको छ नि ?

सबै नेता, कार्यकर्ता फ्रेस, इमानदार हुन्छन्, सबै दूधले नै नुहाएका हुन्छन् भन्न सकिदैनन् । तर असल नेता, कार्यकर्ता कसैले टिप्पणी गरेको पाएको छैन । ५२ जिल्लामा हाम्रो

संगठन थियो तर महाधिवेशनबाट ६१ जिल्लाको प्रतिनिधित्व हुनेगरी केन्द्रीय समिति निर्माण भएको छ ।

हिमाली जिल्ला डोल्पादेखि सोलखुम्बुसम्म हाम्रो अत्यन्त बलियो कमिटी बन्नेगरी साथीहरु आउनुभएको छ । त्यसकारणले कसैले सामाजिक सञ्जालमा लेख्दैमा ती हाम्रा नेता, कार्यकर्ता हुन् भनेर विश्वास गरिहाल्नुहुँदैन ।

नाउपालाई समुदाय र क्षेत्र विशेषको पार्टी भनेर चिनिन्थ्यो, तपाईं त महाधिवेशनमा ६१ जिल्लाको प्रतिनिधित्व छ भन्दै हुनुहुन्छ ?

हाम्रो पार्टीमा अध्यक्ष म रेशम चौधरी भएँ, वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित हुनुहुनछ । ७ जना उपाध्यक्षमा सबै पहाडी समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ । अरु पदहरुमा पनि जनजाति, आदिवासी सबै क्लष्टर मिलाइएको छ । महासचिवमा थारु समुदायको हुनुहुन्छ, ७ जना सहसचिवमध्ये ५ जना थारुबाहेक अन्य समुदायको हुनुहुन्छ ।

जातको श्रीपेच लगाउनेहरुले नाउपालाई जातीय पार्टी भन्छन् । हाम्रो त नेपाली पार्टी हो, भूमिपुत्रहरुको, यो देशभित्र दुःख, पीडा सीमान्तकृत समुदाय, अल्पसंख्यक, जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य सबैको पार्टी हो भन्छौँ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button