पेनाल्टी सुटआउटमा किपर नायक बनेपछि बंगलादेश च्याम्पियन

२७ फागुन, काठमाडौं । गोलकिपर इयरजान बेगम नायक बनेपछि भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेशले साफ यू-१६ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा आइतबार भएको फाइनलमा बंगलादेशले सुरुमै पछि परेर पनि पुनरागमन गरेको थियो । निर्धारित समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट निकालिएको हो ।
बंगलादेशकी किपर इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो टिमलाई च्याम्पियन बनाइन् । उनले भारतका तीन खेलाडीको पेनाल्टी प्रहार रोकिन् ।
यस्तै भारतीय किपरले एक पेनाल्टी बचाइन् भने बंगलादेशका एक खेलाडीको प्रहार पोष्टमा लागेर फर्केको थियो ।
त्यसअघि खेलमा अग्रता भने भारतले लिएको थियो । चौथो मिनेटमै अनुष्का कुमारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर बंगलादेशले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ७०औं मरिम हन्नाले बराबरी गोल गरेकी हुन् ।
चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा बंगलादेश अपराजित रहेर च्याम्पियन बनेको हो । सिंगल राउण्ड रोविनका आधारमा खेलाइएको च्याम्पियनसिपमा बंगलादेश पहिलो र भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेका थिए ।
लिग चरणको खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराएको थियो ।
च्याम्पियनसिपमा बंगलादेशकलाई च्याम्पियन बनाउन महत्वपूर्ण प्रदर्शन गरेकी सौरभी अखान्डा प्रिती मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । यस्तै बंगलादेशकी गोलकिपर बेगमले उत्कृष्ट गोलकिपरको अवार्ड पाइन् भने ६ गोल गरेकी भारतकी अनुष्का कुमारीले सर्वाधिक गोलकर्ताको अवार्ड पाइन् । भुटानले फेयर प्लेको अवार्ड प्राप्त गर्यो ।
घरेलु टोद्यी नेपाल भने लिग चरणमा एक जित र दुई हारको नतिजासहित फाइनल पुग्न असफल रह्यो । भुटानले लिग चरणमा खेलेको तीनवटै खेल हार्दै जितविहीन बन्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।