पिपुल्स च्वाइस अवार्ड : क्रिकेटका खेलाडी किन परेनन् मनोनयनमा ?

१० माघ, काठमाडौं । पछिल्लो एक वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार प्रदर्शन गर्यो । आईसीसी विश्वकप लिग–२ मा अन्तिम १२ मध्ये ११ खेलमा जित हात पार्दै ओडीआई मान्यता जोगायो ।
घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि जित्दै विश्वकपमा छनोट भयो । अनि विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्दै राम्रो प्रभाव छाड्यो ।
त्यतिमात्र होइन, १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानको वर्षाले नेपाली क्रिकेट निकै चर्चामा रह्यो । नेपालमा मात्रै होइन, पछिल्लो एक वर्षमा विश्व क्रिकेटमै नेपालको चर्चा भयो । नेपाली खेलकुदमा सफलता हेर्ने हो भने पछिल्लो वर्ष क्रिकेटले एकछत्र जस्तै राज गर्यो ।
नेपाल खेलकुद पत्रकार मञ्चले वितरण गर्ने नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटबाट कुनै पनि खेलाडी परेनन् ।
फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पछिल्लो एक वर्षमा सबभन्दा राम्रो प्रदर्शन गर्ने क्रिकेटबाटै एक जना पनि खेलाडी पिपुल्स च्वाइसको मनोनयनमा नपर्दा अवार्डमाथि प्रश्न उठ्न थालेका छन् । यस अवार्डलाई नजिकबाट नियाल्नेहरु क्रिकेटका खेलाडी किन नपरेको भनेर आयोजकलाई सोध्ने गर्छन् ।
को–को थिए दाबेदार ?
नेपालमा पछिल्लो समय क्रिकेटमा धेरै खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । त्यसमा पनि दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल उक्त विधामा पर्नुपर्ने प्रमुख दाबेदार हुन् ।
नेपाललाई लिग २ का अन्तिम १२ मध्ये ११ खेल जिताउन कप्तान रोहित पौडेलको प्रदर्शन र कप्तानी दुबै उत्कृष्ट थियो ।
स्कटल्यान्डविरुद्ध ९५ रनको त्यो अविजित इनिङ यादगार थियो । त्यस्तै नेपाललाई एसिया कप पुर्याउन, एसिसी प्रिमियर कपको उपाधि जिताउन र पुनः विश्वकपमा पुर्याउन उनको यो प्रदर्शनको प्रमुख भूमिका थियो ।
नेपालका पछिल्ला सबै सफलतामा दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरे । त्यसमा पनि मंगोलियाविरुद्ध विश्व क्रिकेट इतिहासकै सर्वाधिक छिटो ९ बलमै अर्धशतक प्रहार गरेका थिए ।
लिग २, एसिया कपमा भारतविरुद्धको प्रदर्शन लगायतमा उनको नाम अग्रस्थानमा आउँछ । क्रिकेटबाट आसिफ शेख, गुल्शन झा, कुशल मल्ल र कुशल भुर्तेल पनि पिपुल्स च्वाइस अवार्डको दाबेदार खेलाडी हुन् । तर क्रिकेटका एक जना पनि खेलाडी परेनन् ।
खेलकुद पत्रकार मञ्चका महासचिव समेत रहेका छनोट समितिका संयोजक प्रज्वल ओलीले क्रिकेट आफैंमा लोकप्रिय खेल भएकाले यो खेलका खेलाडीलाई पिपुल्स च्वाइस अवार्डको मनोनयनमा नराखेको जानकारी दिए ।
‘पिपुल्स च्वाइस भन्दैमा सबभन्दा पपुलर पर्ने होइन । कुनै खेलाडी पहिला नै पपुलर छ भने उनीहरुलाई पपुलर बनाउन आवश्यक हुँदैन’, ओलीले भने, ‘सम्भावना भएको, तर पपुलर नभएको छ भने उनीहरुलाई पुपलर बनाउने हो नि !’
वर्तमान नेपाली फुटबलमा अनन्त एक सुपरस्टार खेलाडी हुन् । उनलाई भने अवार्डको मनोनयनमा राखिएको छ । यही प्रश्नमा ओलीले भने, ‘सबैमा हकमा यो लागू नहुनसक्छ । यो पटक फुटबल पर्ला, अर्को पटक क्रिकेटको पर्ला नि !’
जबकी विश्व खेलकुदमा हेर्ने हो भने प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिन्छ । अवार्डको दाबेदार खेलाडी मनोनयनमा नपरे अवार्डको विश्वसनीयतामै प्रश्न उठ्छ । अहिले नेपालमा क्रिकेट लोकप्रियतामा सबैभन्दा माथि रहेको खेलमा पर्छ र खेलाडीहरुको प्रदर्शन पनि उम्दा छ ।
फुटबल र क्रिकेटका खेलाडीहरुले भोट नमाग्ने र पैसा खर्च पनि नगर्ने भएकाले आयोजकले मनोनयनमा नराखेको आरोप पनि खेलकुद पत्रकार संघमाथि लागेको छ ।
यस विधाको विजेता इसेवामार्फत प्राप्त भोट, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा छनोट गरिन्छ । सबैभन्दा धेरै मतभार इसेवा भोटिङको ५० प्रतिशत छ ।
महासचिव ओली भने त्यसलाई स्वीकार गर्दैनन् । ‘फुटबलको अनन्त छ । यसअघि क्रिकेटको पनि परिरहन्थे’ उनले भने, ‘यो पालि परेन भन्दैमा त्यसो भन्न मिल्ला र ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।