Main

पुरुष मोडलहरु घरमै बस्नुपरेको छ, उनीहरुले काम पाउनुपर्छ : आश्मा विश्वकर्मा

काठमाडौं । मोडल तथा डान्सर आश्मा विश्वकर्मा पछिल्लो साता चर्चामा छिन् । शिव परियारको नयाँ गीत ‘धोकेबाज’मा उनको हट डान्सले धेरैलाई आकर्षित गरेको छ । यो गीतमा उनी ओबी रायमाझीसँग फिचर्ड छिन् ।

आश्मा भन्ने बित्तिकै कार्टुन्ज क्रू र यो डान्स समूहका सदस्य सरोज अधिकारीको नाम जोडिन्छ । सरोज र आश्माको जोडीले घरेलु सांगीतिक भिडियोको क्षेत्रमा हिट डान्सिङ ट्रयाक पस्किएका छन् ।

‘धोकेबाज’ गीत सार्वजनिक गर्न आयोजित समारोहमा आश्माले मिडियासँग पछिल्लो समय सरोजसँग सांगीतिक सहकार्य पातलिएको बारेमा प्रतिक्रिया दिएकी छन् । सरोज विदेशिने चर्चा चलिरहेको बेला आश्माले यसबारे केही रहस्य खुलाएकी छन् ।

पछिल्लो समय ‘मेल मोडल’हरुलाई काम पाउन मुस्किल भएको र यसको असर पछिल्लो समय देखिएको उनको भनाइ छ । ‘अहिले मेल मोडलहरुलाई काम कम आइराख्या छ । कतिजना ट्यालेन्टेड मेल मोडलहरुले घरमै बसिराख्नु परेको छ,’ उनले भनिन्, ‘बाँच्नै पर्‍यो, खानै पर्‍यो, गाह्रो हुन्छ । यही कुराले मलाई नराम्रो लाग्छ । सबै राम्रो आर्टिस्टले काम पाओस्, मेरो चाहना त्यही हो ।’

यसको असर सरोजलाई पनि परेको आश्मा बताउँछिन् । यही कारण आफूहरुको जोडी एकसाथ नदेखिएको उनको भनाइ छ । यसबारे आफूहरुबीच कुराकानी पनि हुने गरेको उनी बताउँछिन् ।

‘यसबारे हामीबीच हल्का कुरा हुन्छ । सोचेजस्तो हुँदैन कतिबेला । उहाँ नै हो मलाई हिम्मत दिने, उहाँकै कारण म आज यहाँ उभिन लायकको छु,’ आश्माले भनिन् । ‘धोकेबाज’ गीतमा आफू मात्र देखिनुमा मेकरको चाहना रहेको आश्माले बताइन् ।

सरोज र आफूबीच प्रेम सम्बन्ध पनि टिम सदस्यको रुपमा राम्रो सम्बन्ध रहेको उनी बताउँछिन् । प्रेमको चर्चाबीच, उनको यो अभिव्यक्ति अर्थपूर्ण छ । ‘हामीले एकअर्कालाई चिनेको सन् २००९ बाट हो । बन्डिङ सधैं भइहाल्छ,’ उनले भनिन्, ‘सम्बन्ध भन्दा पनि हामी राम्रो क्रू मेम्बर हौं । रिलको जोडी रियलमा हुन्छ हुँदैन थाहा छैन । तर दर्शककको चाहना भनेको हामीप्रतिको माया हो ।’

उनले केही बाहिरी मान्छेको कारण ‘कार्टुन्ज क्रू’ फुटेको बताइन् । टlम फुटे पनि पछिल्ला गीत हिट भएको उनको भनाइ छ । पानी पर्‍यो, कुटु कुटु हिट भएको उनी बताउँछिन् । ‘वान डिरेक्सन पनि छुट्यो नि त । नछुटोस् भन्ने चाहना हुन्छ । म पनि फ्यान हो,’ उनले भनिन् ।

पछिल्लो समय सरोज र आश्मा वेब सिरिज ‘स्वास्थानी भर्सेस ग्याङ’को निर्माणमा व्यस्त छन् । यो सिरिजको लेखन तथा निर्देशन सरोजले गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button