पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन

१० चैत्र, काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो ।
पहिलो सेटमा पुलिसले ४-१ को अग्रता लिए पनि एभरेस्टले उत्कृष्ट पुनरागमनका साथ अघि बढेको थियो । तीन भारतीय खेलाडी जेन्सी जोनसन, केपि अनुश्री, सुर्याले पुलिसलाई दबाबमा राखेका थिए । १६-१६ बराबरी गरेको पुलिसले त्यसपछि २ अंकको अग्रता लिएको थियो ।
पुलिसले एभरेस्टको कमजोर रिसिभको फाइदा उठाउँदै २२-१९ ले अघि भएपछि पहिलो सेटमा जितको आधार बनाएको थियो । उषा भन्डारीले लगातार तीन अंक सर्भिसमा जोडेपछि पुलिस २५-१९ ले विजयी भएको थियो । तीन सर्भिसको रिसिभ रिचा थापाले मिस गरेकी थिइन् ।
दोस्रो सेटमा पुलिसले सुरुवातमा ४-१ को अग्रता लिएको थियो । एभरेष्टले पुनरागमन गरेको थियो । ५-५ बराबरीबाट एभरेष्टले लगातार ३ अंक जोडेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो ।
पुलिसले १६ मा गएर बराबरी गरेको थियो । २२ बराबरबाट एभरेष्टले लगातार ३ अंक जोड्दै जित हात पारेको थियो ।
तेस्रो सेटको सुरुवातमा एभरेष्टले ६-२ को अग्रता लिएको थियो । सुरुवातमा ५ अंकले पछि परेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो । तेस्रो सेटमा एभरेष्टले २५- १८ को सहज जित हात पारेको थियो ।
चौथो सेटमा एभरेष्टले १०-६ को राम्रो सुरुवात गरेको थियो । पुलिसकी प्रमुख स्पाइकर उषा भण्डारीको प्रदर्शन भने फाइनलमा राम्रो हुन सकेन । सहज जित हात पार्यो ।
शनिबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो बनेको थियो । महिलातर्फ शुक्रबार न्यू डायमण्डलाई ३–१ ले हराउँदै एपीएफ तेस्रो बनेको थियो ।
पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।