‘पूर्णबहादुरको सारङ्गी’ले दुई सातामा कमायो २७ करोड ३५ लाख
काठमाडौं । घरेलु बक्सअफिसमा ‘पूर्णबहादुरको सारंगी’को कमाइ ३० करोड नजिक पुगेको छ । फिल्मले आउँदो शनिबारसम्म उक्त आँकडा सजिलै पार गर्ने प्रक्षेपण गरिएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको १४ दिन बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार फिल्मको दुई साताको कमाइ २७ करोड ३५ लाख रुपैयाँ ग्रस छ ।
फिल्मले बुधबार मात्र १ करोड ९५ लाख रुपैयाँ ग्रस कमायो । मुलुकका ४५० भन्दा धेरै शोबाट विजय बराल स्टारर फिल्मले उक्त कमाइ गरेको हो ।
यस फिल्मले प्रदर्शनको १३ दिन मंगलबारसम्म देशब्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास रचेको थियो । यो फिल्मले ‘कबड्डी ४’को २३ करोड ५० लाख रुपैयाँ ग्रस कमाइको रेकर्डलाई उछिन्दै नयाँ कीर्तिमान रचेको थियो ।
टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।
फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।
फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।