पूर्वपत्नी र छोरासँगै घुमफिरमा आमिर खान

काठमाडौं । छोरीको विवाहको तामझाम सकेर अभिनेता आमिर खान पूर्वपत्नीसँग घुमफिरमा निस्किएका छन् । श्रीमती किरण राव र छोरा आजादसँगै उनी घुम्न निस्किएका हुन् । किरण आमिरकी दोस्रो पत्नी हुन्, जोसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।
यद्यपि उनीहरु पारिवारिक जमघट र कतिपय कार्यक्रममा उत्तिकै सौहार्द्धपूर्ण ढंगले प्रस्तुत हुँदै आएका छन्, जति सम्बन्ध विच्छेदअघि हुन्थे । यसपालि घुमफिरको तस्वीर किरणले आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् ।
कुकुरसँग आमिर परिवारको पोज
सेयर गरिएका तस्वीरहरुमध्ये एकमा किरण, आमिर र आजाद मुस्कुराउँदै पोज दिएको देख्न सकिन्छ । किरणले लेखेकी छन्, ‘रोड ट्रिप विद सुन्दरी’ । तस्वीरहरुमा हस्की जातको कुकुर, छोराको केही एकल तस्वीर पनि देखिन्थ्यो ।
जनवरीमा ‘लापत्ता लेडीज’को ट्रेलर लन्च गर्दै
त्यसो त सम्बन्ध विच्छेदपछि किरण र आमिरलाई जोड्ने सेतु बनेको छ, फिल्म लापत्ता लेडीज । यो फिल्म किरण रावले निर्देशन गरेकी हुन् भने निर्माण आमिर खानले ।
कमेडी-ड्रामा फिल्मको ट्रेलर जनवरीमा सार्वजनिक हुनेछ । फिल्म आगामी मार्चमा रिलिज हुने जनाइएको छ । गत वर्ष टोरन्टो फिल्म फेस्टिभलमा यस फिल्मको स्क्रिनिङ गरिएको थियो ।
सम्बन्ध विच्छेदपछि पनि सँगसँगै
विवाहको ६ वर्षपछि किरण राव र आमिरले आफूहरुबीच सम्बन्ध विच्छेद भएको सार्वजनिक रुपमा जानकारी गराएका थिए । सम्बन्ध विच्छेद भएपनि उनीहरुले एकअर्कालाई आरोप-प्रत्यारोप भने लगाएनन्, बरु व्यावसायिक साझेदार रहने जनाएका थिए । हुन पनि सम्बन्ध विच्छेदपछि उनीहरु विभिन्न कार्यक्रममा एकसाथ देखिंदै आएका छन् ।
हालै आमिरकी पहिलो श्रीमतीतर्फकी छोरी इरा खानको विवाह निकै भव्य रुपमा भएको थियो । त्यस विवाहमा आमिरका दुवै श्रीमती उत्तिकै सौहार्द्धपूर्वक सहभागी भएको देखिन्थ्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।