Main

पोखराको विदेशी खेलाडी : एसोसियटका उत्कृष्टदेखि ‘फर्स्ट क्लास’का अनुभवी

९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।

८ टोलीको सहभागिता रहने प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरा एभेन्जर्सले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ । यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल छन् । त्यसैगरी राष्ट्रिय टोलीका बाँयाहाते स्पिनर सागर ढकाल, राष्ट्रिय टोलीमा केही वर्षअगाडि खेल्ने गरेका दिलीप नाथ छन् ।

टिमको प्रशिक्षकमा भारतको आइपीएल टिम चेन्नई सुपर किङ्सका फिल्डिङ प्रशिक्षक राजिव कुमार छन् भने मेन्टरमा दक्षिण अफ्रिकी लिजेन्ड जोन्टी रोड्स छन् । जोन्टीलाई फिल्डिङका बादशाह समेत भनेर चिनिन्छ ।

एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ भने खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।

पोखराले हालसम्म पाँचजना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । पोखराले तीनजना एसोसियटका खेलाडीहरू अनुबन्ध गर्दा इंग्ल्याण्ड र वेस्ट इन्डिजबाट एक-एक जना छन् । एसोसियटका उत्कृष्ट अलराउण्डर बास डे लिडे, स्कटिश हार्ड हिटिङ ब्याटर माइकल लिस्क र अमेरिकी विस्फोटक ब्याटर आन्द्रेस गौस पोखरामा छन् । त्यसैगरी इंग्ल्याण्डका म्याट क्रिट्ले र वेस्ट इन्डिजका रेमोन रेइफर छन् ।

कस्ता छन् पोखराका विदेशी खेलाडीहरू ?

आन्द्रेस गौस

दक्षिण अफ्रिकाका लागि यू-१९ विश्वकप खेलिसकेका गौस हाल अमेरिकी सिनियर टोलीबाट खेल्छन् । दाँयाहाते विकेटकिपर ब्याटर गौसले टिमलाई विस्फोटक ओपनिङ दिलाउन सक्छन् । टी२० विश्वकप २०२४ मा पनि उनले क्यानडा, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए ।

गौसले टी२०आईमा २३ खेल खेल्दा ६९२ रन बनाएका छन् । सबैखाले टी२० मा उनले ८० खेल खेल्दा एक शतकसहित १९६१ रन बनाएका छन् । उनले अमेरिकी मेजर लिग क्रिकेटका साथै इन्टरनेशनल लिग टी२० पनि खेलेका छन् ।

माइकल लिस्क

स्कटल्याण्डका ३४ वर्षीय अलराउण्डर लिस्कले स्कटल्याण्डको उमेर समूह हुँदै सिनियर टिममा लामो समयदेखि खेल्दै आएका छन् । दाँयाहाते ब्याटिङ गर्ने उनी ठुलो शट खेल्न सक्षम ब्याटर हुन् । उनले टी२० विश्वकप २०२४ मा १०१ मिटर लामो छक्का पनि प्रहार गरेका थिए ।

लिस्कले स्कटल्याण्डका लागि टी२०आईमा ६७ खेल खेल्दा ७२६ रन बनाएका छन् । त्यसैगरी सबैखाले टी२०मा उनले ८५ खेलमा ८५९ रन बनाएका छन् । उनी १३० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्छन् । त्यसैगरी दाँयाहाते स्पिन बलिङ गर्ने उनले ४५ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको भाइटालिटी ब्लास्टमा सोमरसेटबाट खेलेका छन् ।

बास डे लिडे

बास डे लिडे

नेदरल्याण्ड्सका युवा अलराउण्डर डे लिडे एसोसिएटकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनी ब्याटिङ र बलिङ दुवैबाट टिमलाई खेल जिताउन सक्षम खेलाडी हुन् ।

दाँयाहाते ब्याटिङ गर्ने उनले नेदरल्याण्ड्सका लागि ४१ टी२०आई खेल्दा ७२२ रन बनाएका छन् । त्यस्तै सबैखाले टी२०मा उनले ६५ खेलमा ११२५ रन बनाएका छन् भने ४७ विकेट पनि लिएका छन् ।

उनले नेदरल्यान्ड्सको यू-१९ टोलीबाट पनि खेलेका छन् भने इन्टरनेशनल लिग टी२०, द हन्ड्रेडजस्ता फ्रेन्चाइज लिगहरू पनि खेलेका छन् ।

म्याट क्रिट्ले

इंग्ल्याण्डका दाँयाहाते ब्याटिङ अलराउण्डर क्रिट्लेले इंग्ल्याण्डको सिनियर टिमबाट नखेलेको भएपनि उनीसँग अनुभव भने धेरै छ ।

उनले फर्स्ट क्लास क्रिकेटमा १०८ खेलमा ५ हजारभन्दा धेरै रन बनाएका छन् भने १९० विकेट पनि लिएका छन् । त्यसैगरी टी२० क्रिकेटमा उनले १४१ खेलमा १९७३ रन बनाउँदा १२० विकेट पनि लिएका छन् ।

उनले भाइटालिटी ब्लास्ट, द हन्ड्रेड र बिगब्यासजस्ता विश्वचर्चित लिग खेलेका छन् ।

रेमोन रेइफर

वेस्ट इन्डिजका बाँयाहाते अलराउण्डर रेइफरले सिनियर टोलीबाट धेरै खेल खेलेका छैनन् तरपनि फर्स्ट क्लास र लिस्ट ए खेलबाट राम्रो छाप छाडेका छन् ।

उनले १०० फर्स्ट क्लास खेल खेल्दा ३९४६ रन बनाएका छन् भने १९८ विकेट पनि लिएका छन् । त्यस्तै सबैखाले टी२० ९३ खेल खेल्दा ११२४ रन बनाएका छन् भने ६६ विकेट पनि लिएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र इन्टरनेशनल लिग टी२० जस्ता प्रतियोगिताहरू खेलेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button