Main

पोखरामा प्रभु देवाको साउथ फिल्म ‘सत्य मंगला’को छायांकन

काठमाडौं । प्रभु देवा स्टारर दक्षिण भारतीय फिल्म ‘सत्य मंगला’को छायांकन चार दिनदेखि पोखरामा चलिरहेको छ । अभिनेता तथा डान्स कोरियोग्राफर देवा आफैं नआएपनि ‘बडी डबल’ कलाकारले उनको भूमिकामा अभिनय गरिरहेका छन् ।

धम्पुस र लेकसाइड क्षेत्रमा फिल्मको छायांकन गरिएको छ । फिल्मको नेपाल सेड्युल सोमबार सकिने जनाइएको छ । यो फिल्मको नेपाल छायांकन व्यवस्थापन जनकदीप पराजुलीले हेरिरहेका छन् । स्टेफन जोसेफसँगै पराजुली स्वयं पनि यो फिल्मका को–डिरेक्टर हुन् । आर्यन प्रतापले यसलाई निर्देशन गरिरहेका छन् ।

तुवाँलो र प्रदूषणले काठमाडौंबाट हिमालको दृश्य नदेखिएपछि टोली सुटिङका लागि पोखरा पुगेको थियो । तुवाँलोले त्यहाँ पनि हिमाल नदेखिएपछि उक्त दृश्य सुट नगरिएको पराजुलीले जानकारी दिए । ‘मौसमले साथ दिएन तर पोखराको रमणीय दृश्य र धम्पुसको नेपाली लुक्सको पनि सुट भयो,’ उनले भने ।

कन्नड भाषाको यो फिल्मले भारतबाट भागेर नेपाल आइपुगेका केही पात्रको खोजीका लागि प्रहरीले चलाएको खोजी अप्रेसनको कथा भन्छ । फिल्ममा प्रभु देवासहित शाही तन्सिखा र शंकर आर्यनको मुख्य भूमिका छ । शंकर पनि पोखराको सेटमा सहभागी छन् । नेपालबाट भने राजेन्द्र घिमिरेसहितका तीन पोखरेली कलाकारले अभिनय गरेका छन् ।

आगामी डिसेम्बर वा जनवरीमा प्रदर्शन लक्ष्य राखिएको यो फिल्म कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ । यो फिल्मको छायांकन नेपालसहित थाइल्याण्ड, श्रीलंका र भारतमा पनि हुने तयारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button