पोखरामा स्वरुप फेरिएका ६८१ वटा मोटरसाइकल नियन्त्रणमा

२० फागुन, पोखरा । पोखरा वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने ६८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकार प्रहरी निरीक्षक सूर्य रानाका अनुसार हालसम्म ६८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलबाट ७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए ।
स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।
फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । ‘स्वरूप परिवर्तन गरिएका मोटस साइकलहरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीका लागि यातायात कार्यालय कास्कीमा पठाउने भनेका छौं’, प्रहरी निरीक्षक रानाले भने, ‘पहिलो पटकमा परेकाहरूलाई मोडीफाइ गरिएका सामानहरू फेर्न लगाई पहिलेकोजस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने छ ।’
प्रहरीले चर्को आवाज निकाल्नेमात्रै नभएर उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।