Main

पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स पोखरा पुगे, भोलि फेवातालबाट बाइक र्‍याली हुने

२१ कात्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा पुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको मेन्टर नियुक्त भएका जोन्टी बुधबार नेपाल आइपुगेका हुन् ।

एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतामा अनुबन्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी  र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए ।

टिमका लागि समर्थन जुटाउन बिहीबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत ९ वटा  संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा पुगेका हुन् । फेवातालस्थित फिस्टेल होटलबाट बिहान ८ बजे देखि सुरु हुने मोटरसाइकल र्‍यालीमा सयौँको सङ्ख्यामा समर्थकहरू सहभागी हुने तयारी रहेको पोखरा एभेन्जर्सले जनाएको छ।

पोखरामा जोन्टीसहितको टिमलाई प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टिम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँ हाते व्याट्म्यान हुन्  ।

अब जोन्टी बिहीबार दिउँसो काठमाडौं फर्किएर टिमका खेलाडीलाई प्रशिक्षण दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ ।

पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सले यसअघि मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखरा एभन्जर्सले एनपीएलका लागि चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिटले, वेस्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध गरिसकेको छ ।

टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत अनुबन्ध भएका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपीएलल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button