पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिपको उपाधि वर्षा र राजेशलाई

२५ चैत, काठमाडौं । नेपालमै पहिलो पटक आयोजना भएको पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४ को ओपन इलाइटतर्फ वर्षा बस्नेत र राजेश मगर च्याम्पियन बनेका छन् ।
वर्षा ओपन इलाइटको महिला तथा राजेश पुरुषतर्फ विजेता बनेका हुन् । २३ चैतमा छनोट मार्फत २५ जना पुरुक्ष इलाइट र ७ जना महिला इलाइटतर्फ छनोट भएका थिए ।
महिला तर्फ मन्दिरा भण्डारी दोस्रो तथा र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसीले तेस्रो भइन् । पुरुषतर्फ अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए ।
यस्तै ३०+ ओपन मास्टर्समा विधामा ७ जना खेलाडीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए र यसमा राज शही पहिलो भए । विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो भए ।
पुरुषतर्फ ओपन इलाइटमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, एक लाख र ५० हजार प्राप्त गर्दा महिलातर्फ विजेता वर्षाले १ लाख ५० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।
यसैगरी पुरुष ओपन ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला र पुरुषतर्फ चौथो र पाँचौं हुनेलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो । हाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, ब्त्ख्, जिप, फ्ल्याएर स्काइ, स्क्रिनरको फुल प्याकेज पर्दछ । हाइग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भएमा क्रमश अर्को वर्ष पनि खेलाइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।
विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।
विश्व खेलकुद दिवसको अवसर पारेर आयोजना भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी कुल ५६ खेलाडीले भाग लिएका थिए ।
वनजङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर बालुवामा उडाउने गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झन्दै ३ महिना भन्दा बढी समय लागेको आयोजकको दाबी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।