चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ : संयोजक राई

काठमाडौंँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’का संयोजक ज्योतिराज राईले चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । यस्तो गरिए चलचित्रको बजार प्रवर्धनमा सजिलो हुने उनको धारणा छ ।
शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह-आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण विषयक छलफलमा बोल्दै राईले यस्तो धारणा राखेका हुन् ।
आदिवासी र जनजाती चलचित्रको प्रवर्धनको लागी समिति गठन भैसकेकोले आगामी दिनमा बजारीकरण सहज हुने दावी गरे । ‘आदिवासी जनजाती चलचित्र फेस्टिभल र च्यारिटीमा मात्र सीमित नभएर अन्य चलचित्रसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीको भावनामा ठेस लाग्ने, उनीहरुको भाषा, कला, साहित्य र संस्कृतिमा आँच आउने कुरामा ध्यान दिनपर्छ ।’
चलचित्रमार्फत नयाँ पुस्तामा संस्कृति प्रसार गर्न सकिने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजित राईले आदीवासी नेपालका मुलवासी भएकाले आफूहरुको भाषा नै नेपालको मुल भाषा भएको बताए । उनले आदिवासीका भाषामा बनेका चलचित्रलाई विश्व बजारमा पुर्याउने काम महासंघको रहेको बिचार राखे ।
कार्यक्रममा मातृभाषा र सामुदायीक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्धनमा विशेष योगदान पु¥याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल (कोपिला) चौधरीलाई सम्मान समेत गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।