प्रचण्डले दिएको धोकाको जवाफ मतदाताले दिनेछन् : पूर्णबहादुर खड्का

२७ फागुन, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको जवाफ आगामी दिनमा मतदाताले दिने बताएका छन् ।
आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको पहिलो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताएका हुन् । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने ।
कांग्रेससँगको गठबन्धन तोड्नुको कारण प्रचण्डले राजनीतिक रुपमा केही बताए पनि मतदाताले आफूसँग गरेको वाचाको जवाफ खोज्ने खड्काको भनाइ छ ।
उपसभापति खड्काले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरुले निर्वाचनमा गठबन्धन गरेको बताए ।
निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको दाबी गरे । ‘एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ’, उनले भने, ‘बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।