Main

फिस्टुलाको अपरेशन गर्दा घुँडामा लाग्यो करेन्ट, डाक्टर भन्छन्– लापरबाही होइन

४ साउन, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाका २४ वर्षीय रामबाबु महतो ४ महिनादेखि देब्रे घुँडाको घाउले थलिएका छन् । उनलाई हिँडडुल मात्र होइन, उठबस गर्न गाह्रो छ ।

उनलाई यो पीडा आफ्नो कारणले भएको होइन । उपचार गर्ना अस्पताल जाँदा शल्यक्रिया कक्षभित्र करेन्ट लागेका कारण भएको हो ।

यो घटना ७ चैत २०८० मा सिरहा अस्पतालमा भएको हो । मलद्वारमा समस्या भएपछि उनी ६ चैतमा सिरहा प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । भोलिपल्ट ७ चैतमा उनलाई फिस्टुलाको शल्यक्रिया गर्न अपरेसन थिएटरमा लगियो ।

अपरेसन थिएटरमा सामान्य अवस्थामा लगिएका उनी बाहिर निस्कँदा देब्रे घुँडामाथि र दाहिने घुँडामुनि पनि ३ ठाउँमा जलेको चोट लिएर आए । रामबाबुको चोट उनले भन्दा पहिले आमा मिरकला देवीले देखिन् ।

‘म त बेहोस थिएँ । बाहिर निस्केपछि आमा हैरान हुनुभयो । होसमा आएपछि मेरो घुँडामा जलेको थाहा पाएँ । असह्य पीडा हुन थाल्यो’, रामबाबु सुनाए ।

रामबाबुको फिस्टुलाको शल्यक्रिया प्रादेशिक अस्पताल सिरहाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सर्जन डा. नागेन्द्र यादवले गरेका थिए ।

डा. यादवले आफूले शल्यक्रिया गरेको तर लापरवाही नगरेको बताए । ‘अप्रेसनको क्रममा इलेक्ट्रिक कट्री प्लेट राख्नुपर्छ । अप्रेसन हुने ठाउँमा करेन्ट आउने त्यो मेसिनले काट्नुपर्छ । त्यसमै हाइ भोल्टेज प्रवाह भएर छालामा जलन भयो’, डा. यादवले भने ।

रामबाबुका अनुसार त्यस बेला गुनासो गर्दा मेसु डा. यादवले औषधि उपचारको सम्पूर्ण खर्च ब्यहोर्ने आश्वासन दिएका थिए । घुँडामा जलेको घाउको उपचार गराउन रामबाबु डेढ महिनासम्म अस्पतालमा भर्ना भएरै बसे ।

रामबाबुको अपरेशन गरेको २० दिनपछि २८ चैतमा मेसु डा. नागेन्द्र यादव राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भए ।

घाउ निको हुनुको साटो झनै बल्झिदै जाँदा सिरहा अस्पतालले १८ वैशाखमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदिएको रामबाबु बताउँछन् । त्यहाँ उपचार गरेपछि अरु घाउ निको भए पनि देब्रे घुँडामाथिको घाउ भने अझै निको नभएको उनले बताए ।

उपचारमा हालसम्म २ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको रामबाबु बताउँछन् । घाउ कहिलेसम्म निको हुने भन्ने ठेगान छैन । स्थानीय पेट्रोल पम्पमा काम गरेर जीविकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋण बोक्न बाध्य छन् ।

रामबाबुले डा. यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा १४ जेठमा उजुरी दिएका थिए ।

प्रहरीले छलफलमा बोलाउँदा आएका डा.यादवले आफूले पैसा तिर्न नसक्ने बताएका रामबाबुले बताए । ‘प्रहरीकै अगाडि उहाँले म एक पैसा तिर्दिनँ । जे गर्नु छ गर । मुद्दा गर्नु छ गर, म मुद्दै लड्छु भन्दै धम्क्याएर जानुभयो’, रामबाबुले भने ।

डा. यादव आफूले सिरहा प्रादेशिक अस्पतालमै उपचार गराउन भनेको र त्यहाँ सबै निःशुल्क हुने बताए । तर आफू सरुवा भएर गएपछि रामबाबुले अन्यत्र गएर उपचार गराएको र उपचार खर्च मागिरहेको उनको भनाइ छ ।

‘रामबाबुलाई जलेको केही दिनसम्म म आफैंले उपचार गरेँ । म सरुवा भएर गएपछि बाहिर उपचार गराउन जानुभयो । अहिले पैसा माग्दै हुनुहुन्छ । म कहाँबाट दिने ?’ डा. यादव भन्छन् ‘मैले प्राइभेट अस्पतालमा अप्रेसन गरेको होइन नि ! उपकरणमा हाइ भोल्टेजको कारण अन्य ठाउँमा जलन भयो । त्यसको भागिदार संस्था हुन्छ । म अहिले पनि भन्छु राजबिराज आउनुस् म आफै उपचार गरिदिन्छु । तर म व्यक्तिगत पैसा दिन सक्दिनँ ।’

रामबाबुले प्रहरीमा गरेको उजुरीमा चिकित्सक यादवले लापरबाही गरेका कारण आफ्नो गोडा जलेको भन्दै उपचारमा लाग्ने खर्च भराइदिन र कारबाही गर्न माग गरेका छन् ।

अहिले सिरहा अस्पतालमा मेसु रहेका डा. सरोज यादव आफूलाई यो घटना विषयमा जानकारी रहेको बताउँदै पीडित आए निःशुल्क उपचार गरिदिने बताए ।

एक वर्षअघि तत्कालिन मेसु डा. नागेन्द्र यादवकै पालामा सिरहा अस्पतालमा महोत्तरीको गौशाला नगरपालिका १० बटौवाका श्रीमती रिंकु देवी सिंहको पेटमा कपास छाडेको भेटिएको थियो ।

प्रसुतिको लागि भर्ना भएकी उनको पेटबाट शल्यक्रिया गरी बच्चा झिक्दा छाडेको ३१ इनच लामो कपास आन्द्रा नै काटेर हटाउनु परेको थियो ।

रिंकुकी श्रीमान अजयले शल्यक्रियामा संलग्न रहेको भन्दै डा. तेजशंकर यादवमाथि २५ चैत २०७९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । यो घटनाको अहिलेसम्म अनुसन्धान चलिरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button