प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा छन् । यही तयारीस्वरुप उनले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन् ।
छलफल लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिषद् बैठक बोलाइएपछि आज सचिवहरुसँग गर्ने भनिएको त्रैमासिक समीक्षा भने स्थगित गरिएको छ ।
परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते बेइजिङ प्रस्थान गर्नेछन् । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।
यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।