प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय

२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताए ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका प्रचण्डले ३० फागुनमा विश्वासको मत लिँदै छन् ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा गएका छन् भने नवलप्रसाद साह मन्त्री छन् ।
जसपा बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको यादवले बताए ।
नयाँ गबठन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।