Main

शहरी विकास मन्त्रीसँग बालेनको भेट, फोहोर व्यवस्थापनबारे छलफल

२० चैत, काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा दुई पक्षबीच छलफल भएको हो ।

सिहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको छ ।

तत्कालका लागि स्थानीयहरुको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट ‘शून्य फोहोर’ कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग चाहिएको बताएका थिए । भेटमा मेयर शाहले बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाडौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझाव समेत मागे ।

‘काठमाडौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौं,’ उनले भने ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ । ’

जवाफमा मेयर शाहले काठमाडौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्नमन्त्री बुढालाई सुझाव दिए ।

छलफलमा मेयर बालेनले काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button