प्रस्तावित राजदूतको सुनुवाइ : सांसदहरुलाई बैठक सक्नै हतार

१८ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले मंगलबार कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ गर्यो । बिहान साढे ११ बजेबाट सुरु भएको सुनुवाइका क्रममा न सांसदहरूले गहकिला प्रश्न गरे, न प्रस्तावित राजदूतले चाहे जति जवाफ दिन पाए ।
करिव डेढ घण्टा चलेको संसदीय सुनुवाइ सुन्दा यस्तो लाग्थ्यो, सांसदहरुलाई कति बेला सुनुवाइको औपचारिकता पूरा गर्ने भन्ने मात्र हतार थियो ।
प्रस्तावित राजदूतलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न सुरुमा २० मिनेट समय दिइएको थियो । लिखित रुपमा तीन पेजको लिखित कार्यायोजना पेश गरेका उनले तयसको व्याख्या गर्न थाले ।
नेपाली कामदारहरूको प्रमुख रोजगार गन्तव्य कतार भएपनि भोलिका दिनमा त्यो अवस्था नरहने सक्ने बताए । ‘ज–जसको सम्झौता सकिएको छ तिनलाई फिर्ता पठाउन नीति कतारले लिँदैछ, यसले नेपालीहरू थप मारमा पर्न सक्छन्’ पौडेलले भने । एआईलगायत सूचना प्रविधिको विकासका कारणले समेत अदक्ष कामदार कटौतीको नीति कतारले लिनसक्ने भएकाले नेपाल सरकारले ख्याल गर्नुपर्ने सुझाए ।
आफू राजदूत भएर गए कतारबाट नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन पहल गर्ने प्रतिवद्धता जनाए । पोखरा र भैरहवा विमानस्थलमा कतारबाट जहाज उडानका लागि पहल गर्ने र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना पौडेलले सुनाए । ‘उताबाट पर्यटक लिएर आउने र यता (पोखरा र भैरहवा विमानस्थल) बाट नेपाली उत्पादन पठाउन सकियो भने दुवै देशको हितमा हुन्छ’, उनले भने, ‘यसमा मेरो पहल हुनेछ ।’
उनले नेपाल र कतारको सम्बन्ध कस्तो अवस्थामा छ ? अब कस्तो बनाउन भूमिमा खेल्ने ? नेपालले कतारबाट के कस्ता लाभ लिन सक्छ ? कतारमा रहेका नेपालीहरूको अवस्था के छ ? जस्ता विषयमा बोल्न खोजेका थिए । तर समय नै पाएनन् ।
‘पौडेलजी अब सकियो । किनभने हामीले तपाईंको (कार्ययोजना) हेरेका छौं । २० मिनेट समय दिएको २५ मिनेट भइसक्यो । ब्याख्या गर्न थाल्नुभयो भने अझै एक घण्टा लागिहाल्छ’, समिति सभापति सभापति ईश्वरीदेवी न्यौपानेले भनिन्, ‘अब टुंग्याउनेतिर लाग्दा हुन्छ ।’
त्यसपछि पौडेलले थप दुई मिनेट समय मागे । दूतावासको संरचनामा सुधार लगायतका कार्य गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि पहल लिने प्रतिवद्धता जनाए ।
त्यसपछि सांसदहरुले प्रश्न सोधे । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ‘कतारबाट नेपालमा कसरी लगानी भित्र्याउन सक्छौं’ भनेर सोधे । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्ययोजनामा आवश्यक मिहिनेत नपुगेको टिप्पणी गरे । ‘कार्ययोजना ठीकै छ, नराम्रो छैन । तर अझ मिहिनेत चाहिएको जस्तो देखिन्छ’, उनले भने ।
नेपालमा उच्चस्तरीय भ्रमणका लागि पहल लिनुपर्ने र कतारमा रहेका नेपाली कामदारहरूले सामाजिक सुरक्षा, सेवा/सुविधा र सहुलियत पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
एमाले सांसद लिलानाथ श्रेष्ठले एक महिनादेखि शव नेपाल ल्याउन नसकिएको भनेर कतारबाट फोन आउने गरेको सुनाए । यसमा कसरी काम गर्नुहुन्छ भनेर प्रश्न सोधे । कतारमा निकट भविष्यमा पानीको समस्या हुनसक्ने भन्दै एमाले सांसद श्रेष्ठले नेपालबाट निर्यात गर्नका लागि के गर्न सकिन्छ भनेर पनि पौडेललाई सोधे ।
माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले कतारले पेट्रोलियम पदार्थको सन्दर्भमा प्रविधिको प्रयोग गरेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिक्न सक्ने विषयमा ख्याल गर्न सुझाए ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राजदूतलाई आराम गर्ने पदका रुपमा बुझ्न थालेको भन्दै यसलाई चिर्ने गरी काम गर्न सुझाए । एमालेकी सांसद ईश्वरी घर्तीले कतारमा रहेका नेपाली महिला कामदार समस्यामा पर्ने, असुरक्षित रहेको गुनासो आउने गरेको बताए ।
नेपालीले राजदूतलाई भेट्न नपाउने गरेको भन्दै उनले सोधिन्, ‘त्यहाँ रहेका नेपालीहरूले यहाँलाई सजिलै भेट्न पाउनुहुन्छ कि पाउनुहुन्न ? त्यो वातावरण बन्छ कि बन्दैन ?’
प्रस्तावित राजदूत पौडेलले जवाफ दिने क्रममा आफ्नो अध्ययन/अनुसन्धान कामदारको हक अधिकारसँग सम्बन्धित रहेको भन्दै पृष्ठभूमि सुनाए । अनि राजदूत भएमा नेपाली कामदारको अधिकतम हित हुने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
खाडी मुलुकमा काम गर्न जाने अदक्ष कामदारहरु जोखिमयुक्त क्षेत्रको काममा पुग्ने गरेको उनले सुनाए । ‘मस्ट डिफिकल्ट, मस्ट डेन्जरस र मस्ट डर्टी । यस्तो श्रममा मात्रै नेपालीहरू बढी छन् भनेर भनिन्छ’, प्रस्तावित राजदूत पौडेलले भने, ‘यस्तो मजदुर कतारमा २० लाख रहेको र त्यो दक्षिण एसिया अथवा दक्षिण पूर्वी एसियाबाट नै छ ।’
नेपालले नेपाली कामदारको तलब बृद्धिको प्रस्ताव राख्दा कतार सरकारले अन्य मुलुकका कामदारहरू पनि भएकाले एउटा देशको मात्रै बढाउन नसकिने जवाफ दिने गरेको उनले सुनाए । आफू राजदूत भएमा कतारमा कामदार पठाउने देशहरूको क्लबमार्फत कामदारको तलब बृद्धिको विषय उठान गर्ने प्रतिवद्धता जनाए ।
महिला कामदारलाई फोन समेत नदिने समस्या रहेको आफ्नो जानकारीमा रहेको भन्दै पौडेलले उनीहरुको शारीरिक र मानसिक सुरक्षाको लागि काम गर्नुपर्ने बताए । ‘जे पहल गर्नुपर्छ, त्यो पहल गर्नमा मबाट कमी हुँदैन’, प्रस्तावित राजदूत पौडेलको प्रतिवद्धता छ ।
नेपालको वैदेशिक ब्यापार र प्रत्यक्ष लगानी नेपाल भित्र्याउने पहल लिने सुरुकै प्रतिवद्धता दोहोर्याए ।
पौडेलले करिब ८ मिनेट बोलेपछि समिति सभापति न्यौपानेले रोकिन्, ‘सकियो होइन, अब ?’
पौडेलले श्रमसँग सम्बन्धित विषय सकिएको जवाफ दिए ।
तर सभापति न्यौपानेले रोक्दैन भनिन्, ‘श्रममा मात्रै १० मिनेट लगाइदिनुभयो भने त गाह्रो हुन्छ ।’
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाएकाले पनि सुनुवाइ प्रक्रिया छिटो गर्नुपर्ने उनको जोड थियो । ‘जानकारी सबै छ । यहाँले त्यसको कार्यान्वयन गर्नु नै हुन्छ, लेख्नु पनि भएको छ’, सभापति न्यौपानेले भनिन्, ‘अब छोट्याउनुस् ।’
समिति सभापतिले रोक्न खोजेपछि प्रस्तावित राजदूत पौडेलले आफूले इरानमा पनि काम गर्नुपर्ने स्मरण गराए । ‘इरानको बारेमा मैले चर्चा नै गरेको छैन । जहाँ मैले काम गर्नुछ’, पौडेलले भने ।
बैदेशिक व्यापारका लागि पानी, चिया लगायतका नेपाली उत्पादन निर्यात गर्न सकिने भएपनि उत्तिकै जटिलता रहेको बताए । यसका लागि हुने अनुसन्धानमा राज्यको लगानी चाहिने बताए ।
पौडेललाई सभापति न्यौपानेले फेरि रोकिन्, ‘११ मिनेट भयो ।’
पौडेलले भने वैदेशिक ब्यापार प्रवर्द्धन र विदेशी लगानी भित्र्याउनका लागि दुवै पक्षले विन–विनमा कारोबार गर्ने भएकाले यस अनुकुल नीति नियम चाहिने बताए ।
त्यसपछि भने सभापति न्यौपानेले प्रस्तावित राजदूतलाई कटाक्ष गरिन्, ‘आज मलाई के लागिरहेको छ भने प्रस्तावित राजदूतले बोल्दै गर्दा हामी विद्यार्थी, हजुर प्राध्यापक जस्तै ।’
पौडेलले आफूले अझै केही राख्न चाहेको बताए । ‘अरु केही कुराहरू छुटेका छन्’ उनले भने ।
त्यसपछि सांसदहरूले ‘अब पछि भन्दा हुन्छ’ भनेर बिदा हुन सुझाए । बोल्नै नपाएपछि प्रस्तावित पौडेलले सांसदहरूसँग क्षमा माग्दै भने, ‘धेरै धेरै धन्यवाद, म क्षमा चाहन्छु । किनभने डेढ घण्टाको क्लास लिने बानी लागेको हुनाले पनि हो । धेरै धेरै धन्यवाद ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।