प्रहरी कार्यालयभित्र गोली चलेको घटनामा इन्स्पेक्टरलाई कारबाही सिफारिस

३० फागुन, काठमाडौं । प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ ।
प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको घटनामा इन्सपेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
बलम्बुमा ६ फागुनमा प्रहरी कार्यालयभित्रै श्रेष्ठको ९ एमएमको पेस्तोल एक्कासी पड्किँदा सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए । उक्त घटना छानबिनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले प्रतिवेदन बुझाउँदै श्रेष्ठबाट लापरबाही भएको औंल्याएको समितिका एक सदस्यले बताए । घटनालगत्तै इन्सपेक्टर श्रेष्ठ जिल्ला प्रहरी परिसर, काठमाडौंमा तानिएका थिए ।
तर, छानबिन समितिले जाँच गरिरहेकै बेला तत्कालीन गृह प्रशासनले उनलाई फेरि बलम्बु पठाउन जोडबल गरेको थियो । यद्यपि, पछि जिल्ला प्रहरी परिसरले आदित्यकुमार विष्टलाई बलम्बु पठायो ।
यसअघि प्रहरी प्रभाग बलम्बुकै एक जना प्रहरीको घर फर्किने क्रममा प्रहरी भ्यानबाट ओर्लिदा मृत्यु भएको थियो । प्रहरी कार्यालयमा हतियार बुझाएर मात्र घर जानुपर्नेमा उनी हतियार साथीलाई बुझाएर ड्यूटीबाट सिधै घर जान लागेका बेला घटना भएको थियो ।
प्रहरीले यो घटनामा पनि आन्तरिक कमजोरीहरु देखिएको भन्दै जाँच गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।