फाल्डो जुनियर गल्फ : पहिलो दिन सदभाव, ईदान्त र अवानी शीर्ष स्थानमा

२८ चैत, काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सदभाव आचार्य, ईदान्तसिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्ष स्थानमा छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको पुरुषतर्फ १७ देखि २१ वर्ष उमेर समूहमा राष्ट्रिय टिमका सदस्य सदभाव आचार्य ५–अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीर्ष स्थानमा छन् । उनले संसार विकेमाथी १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् ।
सदभावले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । पहिलो, दोस्रो, चौथो र नवौं होलमा एक–एक सट बचाए । तर ५–पारको तेस्रो होलमा डबल बोगी खेपे । यसपछि ब्याक नाइनमा १० देखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे । तर १८औं होलमा एक सट खेर फाले र ब्याक नाइन ३–अन्डर ३१ मा पूरा गरे ।
दोस्रो स्थानमा रहेका संसारले ८–ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३–ओभर ३७ र ब्याक नाइन ५–ओभर ३९ मा सकाए । १०–ओभर ७८ को स्कोरमा स्वप्नील भट्टराई तेस्रो स्थानमा छन् ।
पुरुषतर्फ १२ देखि १६ वर्ष उमेर समूहमा ईदान्तसिंह साउद १६–ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन् । उनले फ्रन्ट नाइन ७–ओभर ४१ र ब्याक नाइन ९–ओभर ४३ मा पुरा गरे । १८–ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन् ।
यसैगरी सोहम अग्रवाल र दीपकबहादुर कामी २१–ओभर ८९ सहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
महिला खुल्लातर्फ अवानी राई २०–ओभर ८८ सहित शीर्ष स्थानमा रहेकी छन् । उनले आइसटिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन् । आइसटिनाले २५–ओभर ९३ को स्कोर दर्ज गरिन् ।
५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागीता छ । तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् । प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन् ।
प्रतियोगितामा काठमाडौं बाहेक पोखरा, धरान र चितवनका खेलाडीले सहभागिता छ । यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको थियो । कोरोना महामारी २०२० पछि रोकिए पनि संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौता गरेसँगै पुनः सुरू भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।