फिल्म ‘अग्निदहन’को मर्मस्पर्शी टिजर : बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा
काठमाडौं । मंसिर ७ गतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’को टिजर सार्वजनिक भएको छ । साहित्यकार लोकमणी पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर तयार पारिएको फिल्मको टिजर मर्मस्पर्शी छ ।
बोक्सीको आरोपमा धामीझाँक्रीले महिलालाई दिने यातना र मानसिक असन्तुलनको कथावस्तुमा फिल्म निर्माण भएको छ । एक अधवैंशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टिजरमा देख्न सकिन्छ ।
‘धौली’, पञ्चैबाजा र लण्डन टु पेरिस जस्ता फिल्म निर्देशन गरेका घनश्याम लामिछानेको यो चौंथो निर्देशकीय फिल्म हो । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय छ । कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेलको कथा र संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ ।
यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो फिल्म हेरिसकेका छन् ।
चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।