फिल्म ‘मनसरा’को छायांकन ललितपुरमा चल्दै
काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘मनसरा’को आधाभन्दा बढी छायांकन सकिएको छ । २० दिनदेखि ललितपुर नखिपोट र भैंसेपाटी आसपासमा छायांकन चलिरहेको छ ।
अभिनेता राई ‘भूठान’को छायांकनका लागि अहिले अमेरिकामा छन् । उनी त्यता गएपनि निर्देशक उपेन्द्र सुब्बाले मिरुना, मेनुका प्रधान र प्रवीण खतिवडालाई लिएर फिल्म छायांकन गरिरहेका छन् ।
बाँकी छायांकनका लागि अभिनेता राई माघ २० गते अमेरिकाबाट नेपाल फर्कदैंछन् । उनी स्वदेश फर्किएपछि उनको बाँकी भागको छायांकन पाँचथरमा हुनेछ ।
दयाहाङ र मिरुनासँग उपेन्द्रको यो दोस्रो निर्देशकीय सहकार्य हो । पछिल्लोपटक सुब्बाले निर्देशन गरेको ‘जारी’को शीर्ष भूमिकामा उनीहरुको अभिनय थियो ।
यो फिल्मले अर्गानिक कथा पस्किने बताइएको छ । यो फिल्मबाट निर्माताको रुपमा शैलेन्द्रध्वज कार्की अघि बढेका छन् । कार्की चर्चित फिल्म छायांकार समेत हुन् । कार्कीले योजना अनुसारको काम भइरहेको बताउँदै दयाहाङ नेपाल फर्किएपछि ७/१० दिनमा छायांकन सम्पन्न हुने जानकारी दिए ।
निर्देशक सुब्बाले जाडोको मौसम भएपनि छायांकन सोचअनुसार भैइरहेको बताए । उनले फिल्म उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे ।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ । फिल्मको प्रदर्शन बैशाख २१ गतेलाई तय गरिएको छ । फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।