कांग्रेस सांसदको प्रश्न : इमानदार सांसदलाई मात्रै नियम लाग्ने हो ?

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयको प्रयोगका विषयमा प्रश्न उठाएकी छन् ।
आइतबार विशेष समयमा बोल्दै उनले आकस्मिक समयमा कुनै दललाई समय दिने कुनै दललाई नदिने प्रवृत्ति देखिएको भन्दै सभामुखमाथि प्रश्न उठाएकी हुन् ।
‘सभामुखज्यूसँग आकस्मिक समय माग्न जाँदा अघिल्लो संसद र त्यसको बीचको समयमा भएका घटनाहरुको बारेमा मात्रै बोल्न पाइने भनिएको थियो । एउटा इमानदार सांसद भएको नाताले त्यही होला मेरो घटना आकस्मिक समयमा परेन भनेर मैले मागिन । बोल्न मलाई पनि धेरै इच्छा हुन्छ’, उनले भनिन्, ‘तर यहाँ म देख्दै छु– एउटै विषयमा तीन चार पटक बोलिरहँदा कतै यो इमानदार सांसदका लागि मात्रै नियम हो कि भन्ने मलाइ अनुभूति भएको छ ।’
संसदमा हुने आकस्मिक समय, शून्य समय, विशेष समयमा जे बोल्नुपर्ने हो त्यही बोलिनुपर्ने र आकस्मिक समयको महत्व यसअनुसार स्थपित गरिनुपर्ने उनको भनाइ छ । आकस्मिक समयमा विषय राख्न दिने र त्यो पनि दलीय आधारमा हुने प्रवृत्ति रहेको भन्दै उनले यसको पनि विरोध गरे ।
उनले भनेकी छन्, ‘आकस्म्कि समय जुन विषयमा दिने हो त्यसअनुसार हुनुपर्यो । कुनै पार्टीलाई दिने वा नदिने भन्ने खालको व्यवहार हुनु हुँदैन । सभामुखले यो गर्नुहुँदैन भन्ने मलाइ लाग्छ । उहाँ जुन पार्टीबाट आएपनि सभामुख सबै पार्टीको सांसदका लागि बराबर हुन् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।