Main

फिल्म सिटी निर्माणमा चीन र मौरिससको चासो, १६ अर्ब लागत अनुमान

काठमाडौं । दोलखामा निर्माण हुन लागेको प्रस्तावित अन्तर्राष्ट्रिय फिल्म सिटीको निर्माणमा चीन र मौरिससका लगानीकर्ताले चासो देखाएका छन् । यसैसाता काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा फिल्म सिटीलाई पनि सोकेसमा राखिएको थियो ।

परियोजनाको प्रस्तुतिकरणका लागि मन्त्रिपरिषद्ले चारजनालाई संयोजक तोकेको थियो, जसमा हरिदर्शन श्रेष्ठ, शोभित उप्रेती, सरोज पोखरेल र आनन्द गौतम थिए ।

संयोजकमध्येका एक उप्रेतीका अनुसार दुई मुलुकका लगानीकर्ताले दोलखा फिल्म सिटी निर्माणमा चासो देखाएका हुन् ।

यसबारे उनले भने, ‘मौरिसस र चीनका लगानीकर्ताद्वारा तीव्र इच्छा जाहेर गरेकाले अब लगानी वोर्डद्वारा वार्ता सुरु गरी आन्तरिक गृहकार्यसहित नेपालको कानुनी प्रक्रियालाई चाँडो पूरा गर्न पहल गर्नु राम्रो हुन्छ ।’

चीनको पोलिचण्डा इन्जिनियरिङ समूहका राष्ट्रिय व्यवस्थापक याङ सो र मौरिसकका आर्थिक विकास बोर्डका उपकार्यकारी निर्देशक सचहिन मोहाबीले प्रोजेक्टबारे चासो दिएका हुन् ।

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तासँग नेपाली प्रतिनिधि ।

सिटी निर्माणमा १६ अर्बभन्दा बढी लागत लाग्न सक्ने अनुमान उप्रेतीले गरे । दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित डाङडुङे क्षेत्रमा १५ सय रोपनी जग्गामा फिल्म सिटीको निर्माण थालिएको हो ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा सिटी निर्माण गर्ने निर्णय भएको थियो । त्यसयता सरकारले ४० करोड खर्च गरिसकेको छ । अहिले सडक, विद्युत र भवन निर्माणजस्ता पूर्वाधार बनिरहेको छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा प्रस्तुत हुने बजेटमार्फत सिटी निर्माणमा बजेट विनियोजन गर्दै आइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button