Main

‘फुटबल राम्रो खेल्नका लागि क्यारेक्टर चाहिन्छ’

२६ पुस, काठमाडौं । लेबननका गोलकिपर मोहमद ताहाले केही समयअघि सकिएको नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसीबाट खेले ।

नेपालमा उनको यो पहिलो एनएसएल र समग्रमा दोस्रो प्रतियोगिता थियो । यसअघि उनले थ्रीस्टारबाट ए डिभिजन लिग खेलेका थिए ।

आफ्नो पोजिसनमा राम्रो भएपनि उनले दुवैतिर उपाधि जित्न पाएनन् । व्यक्तिगत उत्कृष्ट गोलकिपरको अवार्डका लागि उनी दाबेदार थिए । तर त्यो पनि हात पार्न सकनेन् ।

धनगढी एफसी लगातार दोस्रो पटक फाइनल पुगेपनि फेरि उपविजेतामै सिमित रह्यो । २०७८ मा भएको पहिलो संस्करणको फाइनलमा काठमाडौं रेजर्ससँग पराजित धनगढीलाई यसपटक उपत्यकाकै अर्को टोली ललितपुर सिटी एफसीले हराइदियो ।

२५ वर्षीय गोलकिपर ताहाले लिग चरणमा राम्रो खेलेपनि धनगढी फाइनलमा चुकेको बताए । ‘लिगअघि राम्रो तयारी गर्न नपाएपनि सुरुवाती दुई खेल नै जितेर हाम्रो टिम राम्रो बन्दै गयो र लिग चरणमा हामीले राम्रो खेल्यौं,’ ताहाले भने, ‘तर प्लेअफ फरक थियो । जहाँ भाग्य पनि चाहिन्छ ।’

क्वालिफायरमा पोखरा विरुद्ध तीन पटक पछि परे पनि कमब्याक गर्दै पेनाल्टीमा धनगढी विजयी भएको थियो । पोखराविरुद्ध टाइब्रेकरमा दुई पेनाल्टी रोकेका ताहाले भने, ‘फाइनल फरक भयो । फाइनल पुगेपछि सबैलाई हामीले अब जित्छौँ जस्तै भयो । तर हामीले बिर्सियौँ कि एक खेल बाँकी छ ।’

लिगमा शीर्ष दुईमा रहेपछि पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको धनगढीले ललितपुरको तुलनामा धेरै आराम पाएको थियो । जसले धनगढीलाई आवश्यक आराम पनि पुगेको थियो ।

ललितपुरले एक दिन बिराएर लगातार खेल्दा थकान हुने भएकोले गाह्रो हुने धेरैको सोच थियो । तर ललितपुरले एक एक दिनको अन्तरमा प्लेअफको तीनवटै खेलमा उत्कृष्ट खेल्दै उपाधि जित्यो ।

ललितपुरले लगातार खेल्न पाएको तर धनगढीले आराम पाएकाले नै आफूहरुलाई बेफाइदा भएको ताहाको ठम्याइँ छ । ‘सबैले हामीलाई चार दिन आराम भयो । सजिलो हुन्छ सोचे । तर त्यस्तो होइन । ललितपुरले लगातार खेल्दा उनीहरुको टिम सेट थियो । हामी आराम गर्दा झन् गाह्रो भयो,’ ताहाले कारण बताए ।

फाइनलमा पराजित भएकाले नै उत्कृष्ट गोलकिपरको अवार्डको नजिक पुगेर पनि गुमेको उनले बताए । ‘पहिला ए डिभिजन लिगमा थ्रीस्टारबाट राम्रो खेलिरहेको थिएँ । ८ क्लिनसिट राखेको थिएँ । तर हात भाँचियो । यस पटक दुर्भाग्य फाइनलमा पराजित भयौं । दुई पटक बेस्ट गोलकिपर अवार्ड गुमे जस्तो लाग्छ,’ उनले भने ।

एनएसएल उत्कृष्ट

पहिलो पटक एनएसएल खेलेका ताहाले धेरै इन्जोए गरे । धनगढीमा नेपालसँगै लेबनन, नाइजेरिया, घाना, सेनेगल र गिनीका खेलाडी थिए । ६ विदेशी टिममा राखेको धनगढीले हरेक खेलमा ५ विदेशी मैदान उतारेको थियो ।

यसपटक एकैपटक ५ विदेशी खेलाडी खेलाउन पाउँदा खेल प्रतिस्पर्धात्मक पनि भयो । धेर खेलको नतिजामा विदेशी नै निर्णायक रहे ।

ताहाले पनि एनएसएल ए डिभिजन लिग भन्दा उत्कृष्ट रहेको र एसियामै राम्रो मध्येमा रहेको बताए । ‘एनएसएलको कथा लिग भन्दा फरक छ । मेरो विचारमा यो एसियामै राम्रोमा पर्छ । यहाँको खेलाडीको स्तर राम्रो छ’, ताहाले भने, ‘एनएसएलको आयोजनादेखि सबै व्यवस्थापन राम्रो छ र अरु एसियन देशले पनि यो हेरिरहेको छ ।’

एनएसएल नेपालको मात्रै नभएर अन्य देशका खेलाडीका लागि पनि राम्रो अवसर रहेको उनले बताए । ‘एनएसएलमा फ्रेन्चाइज टिमले धेरै सुविधा दिएको छ । त्यतिमात्र नभएर नेपालको युवा खेलाडीदेखि विदेशी खेलाडीको लागि पनि एनएसल राम्रो प्ल्याटफर्म हो ।’

ताहाले एनएसएलमा दर्शकको उपस्थिति देखेर आफू अचम्मित भएको र क्रेजी फ्यान रहेको बताए । ‘नेपालमा धेरै फ्यानले खेल हेर्छन् । नेपालमा खेल्दा धेरै रमाइलो भयो । पहिले ए डिभिजन र अहिले एनएसएलमा ।’

नेपालले फुटबलमा राम्रो गर्न सक्छ

नेपाल सुपर लिग २०२३ ले नेपाली फुटबलमा राम्रो सम्भावनाको संकेत देखाएको ताहाले बताए । जसबाट नेपाली पुटबलले ट्रयाक लिन सक्ने उनी बताउँछन् । ‘नेपाली फुटबलले पनि राम्रो गर्न सक्छ । एनएसलले राम्रो उदाहरण हो । यसबाट एन्फाले सिक्नुपर्छ । यो एन्फाको लागि सही समयम हो केही राम्रो गर्ने,’ ताहाले भने, ‘यहाँ धेरे राम्रो खेलाडीहरु छन् । राम्रा कोचहरु छ । सबैभन्दा राम्रो कुरा यहाँ क्रेजी फ्यान छन् ।’

फुटबल विकासका लागि राम्रो योजना बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘नेपाली समथर्कले अझ राम्रो फुटबल हेर्ने चाहना राख्छन् । एन्फाले राम्रो फुटबल संरचना र क्यालेन्डर बनाउनुपर्छ ।’

पछिल्लो समय नेपालका फुटबलरहरु विदेशिने क्रम जारी छ । राम्रो योजना अनुसार फुटबल प्रतियोगिताहरु आयोजना भइरहे खेलाडी विदेश जाँदैनन् भन्ने उनलाई लागेको छ ।

फुटबल खेल्ने शैलीफिजिकल धेरै रहेको भन्दै उनले नेपाली खेलाडीले ट्याक्टिकल्ली सुधार गर्नुपर्ने बताए ।

उनले नेपालमा उचाइमा खेल्नुपर्दा केही विदेशीलाई कठिन हुने पनि बताए । ‘नेपालको अल्टिच्युड माथि छ सो सबैलाई विदेशीलाई खेल्न सहज नहुन सक्छ । यदी अन्त खेल्दा १० सेकेण्डमा रिकभर हुन्छ भने यहाँ २०-२० सेकेण्ड रिकभरमा लाग्न सक्छ ।’

मेरो सपना एसिया

लेबानोनको डेविड नाखित एकेडेमी (२००९-११)बाट युथ करियर सुरु गरेका ताहाले लेबननदेखियुरोपियन राष्ट्र साइप्रसको क्लब हुँदै फेरि एसियाकै क्लबमा खेलेका थिए ।

उनले लेबननको विभिन्न उमेर समूहको टिमबाट पनि खेलेका छन् । राष्ट्रिय टिमको क्यापमा परेपनि खेल्न भने पाएका छैनन् । उनी २०१९ को एएफसी एसियन कपका लागि क्याम्पमा परेपनि अन्तिममा टिममा पर्न सकेनन् ।

लेबननको साफा बेरुत एससी, साइप्रसको एपोलको युथ टिमबाट पनि खेलेका उनलेमाल्दिभ्सको क्लब इगल्स र डा ग्रान्डेबाटपनि खेलेकाछन् । एपोल युरोपियन लिगहरुमा खेल्ने क्लब हो ।

धेरैको सपना युरोपबाट खेल्ने हुन्छ । तर ताहा भने एसियामै खेल्न चाहन्छन् र आफ्नो सपना एसिया भएको बताउँछन् । ‘मैले युरोपमा पनि खेलेँ । युरोप युवा खेलाडीको लागि राम्रो हो । अरुको सपना युरोपमा खेल्ने हुन्छ । तर मेरो सपना एसिया नै हो’, ताहाले भने, ‘एसिया गोलकसपर भएकोले म एसियामे धेरै खेल्न चाहन्छु । एसियन फुटबल पनि विस्तारै माथि आउदैछ । माल्दिभ्स र नेपालले मेरो लागि अवसरको ढोका खोल्यो ।’

उनले कुनै समयम लेबननको फुटबल राम्रो रहेपनि पछिल्लो समय युद्धका कारण स्तर खस्किएको बताए । ‘लेबननको फुटबल पहिला राम्रो थियो तर अहिले कमजोर भएको छ । आर्थिक समस्या मुख्य हो । युद्धले फुटबलम पनि असर गर्‍यो । पहिला हाम्रो टिम राम्रो थियो । अहिले एसियाका सबै टिम माथिल्लो स्थलमा पुगिरहेका छन् ।’

ताहाले तत्कालका लागि आफूले नेपालमै खेल्ने बताए । ‘म जति समय नेपालमा हुन्छु खुशी छु । म नेपालमै अझ धेरै समय बस्न चाहन्छु । मेरो लक्ष्य भनेको ए डिभिजन लिग र एनएसएल दुवै जित्ने हो ।’

उनले अब नेपालमा हुने केही नकआउट गोल्डकप फुटबल खेल्ने योजना रहेको सुनाए । तर कुन क्लबबाट खेल्ने खुलासा गरेनन् । उनी आहा रारा गोल्डकप खेल्ने तयारीमा छन् ।

नेपालको मानिस, कल्चर, जीवनशैलीदेखि खानेकुरा सबै मन परेको उनले सुनाए । ‘यहाँ सबै जना फ्रेण्डली छन् । म भ्याली बाहिर पनि गएको थिएँ । लाइफस्टाइल सबैको सिम्पल छ । कल्चर मलाई मन पर्‍यो,’ ताहाले भने । उनले दाल भात र मोमो मन परेको बताए ।

नेपालको मौसम पनि धेरै राम्रो रहेको बताउँदै उनले थपे, ‘जसले गर्दा नेपालमा मेडिटेसन जस्तै हुन्छ ।’

 मिस्टर मोडल इन्टरनेशनल बनेपछि कन्फिडेन्स बढ्यो

ताहा फुटबलखेलाडी मात्र नभएर मोडल र फिटनेस ट्रेनर पनि छन् । त्यसैले उनी गुड लुकिङ छन् र उत्तिकै फिट पनि छन् ।

उनले पेजेन्टमा पनि भाग लिएका थिए । सन् २०१८ मा मिस्टर लेबनन इन्टरनेशनल बनेपछि उनले आफूले धेरै कुरा सिकेको बताए ।

त्यो बेला फुटबलमा आफ्नो लागि केही नराम्रो पनि भएको उनले सुनाए । तर नयाँ अनुभव लिन पाएको उनले सुनाए ।

‘२०१८ मा मिस्टर इन्टर बनेपछि २०१९ मा मिस्टर मोडल एसिया जितेँ । मिस्टर वर्ल्डमा सेमिफाइनलसम्म पुगें,’ ताहाले भने ।

यी प्रतियोगितामा जाँदा उनले व्यक्तिगत विकासदेखि धेरै कुरा सिके । ‘जीवन नै एक अनुभव हो । मिस्टर एसिया जाँदा मैले धेरै कल्चर हरु सिकेँ । मलाई धेरै इन्टेलिजेन्ट पनि बनायो । अझ महत्वपूर्ण कुरा च्यारेक्टर (व्यक्तित्व) विकास गर्न सहयोग गर्‍यो ।’

त्यो कुराले उनलाई फुटबल खेलमा पनि सहयोग गर्‍यो । ‘राम्रो फुटबल खेल्नका लागि पनि तपाईँलाई राम्रो क्यारेक्टर चाहिन्छ । जसले कन्फिडेन्ट बनाउँछ’, ताहा भन्छन्, ‘म गोलकिपर भएकोले पनि गल्ती कम गर्नुपर्छर र आफ्नो काममा कन्फिडेन्ट हुनुपर्छ । आफ्नै क्यारेक्टर आफैँ बनाउने हो ।’

ताहालाई जर्मनीमा मानुएल नुयर र स्पेनका पूर्व कप्तान तथा किपर इकर क्यासियास मन पर्छ । तर उनलाई स्पेन तथा रियल मड्रिडका पूर्व गोलकिपर इकर क्यासियासको व्यक्तित्वले धेरै प्रभावित गरेको छ ।  क्यासियासबाट उनी पनि प्रभावित छ । ‘रियल मड्रिड जस्तो टिममा खेल्न सजिलो छैन । त्यस्तो टिमलाई नेतृत्व गर्न क्यारेक्टर चाहिन्छ । मलाई पनि त्यो कपी गर्न मन लाग्छ । त्यसैले उनी राम्रो लाग्छ ।’

ताहा फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छन् । अहिले नेपालमा हुँदा पनि उनी दैनिक ट्रेनिङ गरिरहेका हुन्छन् । खानपानमा पनि विशेध ध्यान दिन्छन् । उनी भन्छन्, ‘खेलाडी भएपछि सधैं फिट हुनु उत्तिकै आवश्यक छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button