फेसबुक एपमा डार्क मोड कसरी खोल्ने ?

इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सोसल मिडिया तथा साइटहरुमा डार्क मोड फिचर परिचित फिचर नै हो ।
रातको समयमा स्क्रिनलाई आँखामैत्री बनाउनका लागि यो फिचर निकै उपयोगी हुन्छ । यसले गर्दा आँखामा दबाब कम पर्नुका साथै फोनको ब्याट्री लाइफ बढ्दछ । यद्यपि यो फिचर निकै कमले मात्र प्रयोग गर्ने गरेका हुन्छन् । किनकि धेरैलाई यो फिचरका बारेमा त थाहा हुन्छ, तर यसका फाइदाका बारेमा खासै थाहा हुँदैन । साथै कतिपयले डार्क मोड कसरी सुचारु गर्ने भन्ने तरिका पनि जानेका हुँदैनन् ।
डार्क मोडका फाइदा
डार्क मोडले स्क्रिनबाट निलो प्रकाशको उत्सर्जनलाई घटाउँदछ। यसले विशेष गरी रातको समयमा स्क्रिनको प्रयोग गर्ने क्रममा आँखाको तनावलाई कम गर्दछ ।
त्यसैगरी ओएलइडी तथा एमोलेड स्क्रिनवाला डिभाइसका लागि डार्क मोडले कम उर्जाको खपत गर्दछ । यसले फोनको ब्याट्री लाइफ बढाउन सहयोग गर्दछ ।
कतिपय प्रयोगकर्तालाई खासगरी कम प्रकाशको सेटिंग्समा डार्क मोड देख्नमा आकर्षक लाग्नुका साथै स्क्रिनमा देखिने सामाग्रीमा बढी ध्यान केन्द्रित हुन्छ ।
फेसबुक एपमा डार्क मोड कसरी सुरु गर्ने ?
फेसबुक एप खोल्नुहोस् र तीनवटा तेर्सो रेखाहरु भएको आइकनमा ट्याप गर्नुहोस्
तल स्क्रोल गर्दै जानुहोस् र Setting अप्सनमा ट्याप गर्नुहोस्
Setting मेन्यू भित्रको Account Setting मा ट्याप गर्नुहोस्
त्यहाँ तलपट्टि तपाईंले Dark Mode अप्सन देख्नुहुनेछ
डार्क मोडलाई सक्रिय बनाउनका लागि सोही अप्सनमा ट्याप गर्नुहोस्
डार्क मोड सक्रिय भएसँगै फेसबुक एपको रङ गाढा अर्थात् कालोमा परिणत हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।