वासिंटन पोस्टकी पहिलो महिला सम्पादकले दिइन् राजीनामा

अमेरिकी अखबार द वासिङ्टन पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी सेली बज्बीले राजीनामा दिएकी छिन् । सम्पादकीय नेतृत्व सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बज्बीको स्थानमा वालस्ट्रिट जर्नलका पूर्व प्रधानसम्पादक म्याट मुर्रे आउनेछन् । उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अवधिभर यो जिम्मेवारी सम्हाल्ने बताइएको छ । त्यसपछि टेलिग्राफमा डेपुटी सम्पादक रहेका रोबर्ट विनेटले वासिङ्टन पोस्टको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्ने अलजजिराले उल्लेख गरेको छ ।
वासिङ्टन पोस्टले समाचार कक्षमा नयाँ कार्यविभाजन गर्ने भएको छ । सामाजिक सञ्जालमा बढी केन्द्रित हुँदै त्यसबाट आर्जनको नयाँ आयाम थप्ने योजनामा वासिङ्टन पोस्ट रहेको छ । बज्बीको राजीनामाको कुनै कारण जानकारी गराइएको भने छैन ।
वासिङ्टन पोस्टका प्रकाशक तथा प्रमुख कार्यकारी अधिकृत विलियम लिविसले बज्बी एक कुशल नेतृत्व र निकै क्षमतावान पत्रकार रहेको भन्दै उनको अभाव खड्किने बताएका छन् । ‘म उहाँको आगामी यात्राका लागि शुभकामना भन्न चाहन्छु । उहाँ निकै कुशल र क्षमतावान नेतृत्व हुनुहुन्थ्यो’, उनले भनेका छन् ।
यस्तै हाल सम्पादकीय कमाण्ड सम्हालेका मुर्रेले भनेका छन्, ‘वासिङ्टन पोस्टलाई नयाँ उचाइमा लाने योजनामा काम गर्न म निकै उत्साही छु र यो जिम्मेवारीका लागि म प्रकाशकद्वय विल र जेफ बेजोसलाई धन्यवाद दिन चाहन्छु ।’
बज्बीले सन् २०२१ मा वासिङ्टन पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी थिइन् । पोस्टको आम्दानी निकै घटेपछि खर्च धान्न संघर्ष गर्नुपर्ने प्रकाशकहरुको भनाइ छ । प्रकाशक लिविसले पोस्टले गत वर्ष मात्रै ७७ मिलियन डलर गुमाएको बताएका छन् । ‘हामी खाडलमा पुगिसकेका छौं । खाडल पुर्नका निम्ति हामीलाई केही समय लाग्नेनै छ’, वासिंटन पोस्टले उल्लेख गरेको छ ।
पोस्टको आम्दानी बढाउनका निम्ति लिविसले ग्राहक योजनामा दुई मोडलअघि सार्ने बताएका छन् । यो योजना अन्तर्गत पोस्ट प्रो र पोस्ट प्लस रहने उनको भनाइ छ ।
वासिङ्टन पोस्टको १४४ वर्षको इतिहासमा यसले पहिलोपटक महिला सम्पादक पाएको थियो । मार्टी बेरोनलाई प्रतिस्थापन गर्दै बज्बीले पोस्टको सम्पादकीय नेतृत्व सम्हालेकी थिइन् । बज्बीको नेतृत्वमा वासिङ्टन पोस्टले ६ वटा पुलित्जर पुरस्कार पाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।